नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आगामी माघ ८ गतेदेखि आईपीओ जारी गर्ने तयारी गरेको छ। कम्पनीले धितोपत्र बोर्डबाट स्वीकृत २२ लाख ५० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका श्रम स्वीकृत नेपाली नागरिकहरूको लागि निष्कासन गर्न लागेको हो। यस सेयरको अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँ तोकिएको छ।
त्यस्तै, कम्पनीले ३ प्रतिशत अर्थात ६७,५०० कित्ता सेयर आफ्ना कर्मचारीहरूको लागि, र ५ प्रतिशत अर्थात १ लाख १२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ। बाँकी १८ लाख ४५ हजार कित्ता सेयर सर्वसाधारणका लागि उपलब्ध गराइनेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले आवेदन दिनका लागि धितोपत्र बोर्डबाट स्वीकृत भएका सबै आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू, तिनका तोकिएका शाखा कार्यालयहरू, साथै मेरो सेयर अनलाइन प्लेटफर्मको प्रयोग गर्न सक्नेछन्।
यस आईपीओको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी एनआईएमबी एस क्यापिटल लिमिटेडले लिएको छ।
नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले आफ्नो कुल जारी पूँजीको ३० प्रतिशत अर्थात २२ करोड ५० लाख रुपैयाँ बराबरको, १०० रुपैयाँ अंकित दरका २२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्न पुस २५ गते नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो।