नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो बजार सेयर कारोबार रोक्का गरेको छ । नेपाल राष्ट्र बैंकले पुस १० गते कर्णाली डेभलपमेन्ट बैंकलाई समस्याग्रस्त घोषणा गरेको हो । यो सँङ्गै नेप्सेले बैंकको सेयर कारोबार रोक्का गरेको छ ।
सेयर कारोबार रोक्का हुनु पहिला बैंकको सेयरमूल्य प्रतिकित्ता ८१० रुपैयाँमा कारोबार भएको थियो ।
कर्णाली डेभलपमेन्ट बैंकले राष्ट्र बैंकले तोकेको न्यूनतम पुँजीकोष अनुपात कायम नगरेको, संस्थागत सुशासनको अवस्था कमजोर भएको, आर्थिक हिनामिनाको आशङ्का भएको, कमजोर तरलता स्थितिसँगै संस्थाले भुक्तानी गर्नुपर्ने निक्षेप दायित्व पूरा गर्न नसक्नुका साथै संस्थाबाट प्राप्त वित्तीय अपचलनको जानकारी समेतका आधारमा संस्थालाई यथास्थितिमा सञ्चालन हुन दिँदा निक्षेपकर्ताको हित सुरक्षित नहुने र बैंकिङ प्रणालीप्रति अविश्वास सिर्जना हुने अवस्था देखिएकोले सर्वसाधारणको हित कायम गर्न समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई नियन्त्रणमा लिएको थियो ।
बैंकले तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको, निष्क्रिय कर्जा अनुपात ४०.८५ प्रतिशत रहेको लगायतका कारण देखाउदै बैंकलाई नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ बमोजिम गत मङ्सिर ११ देखि लागु हुनेगरी शीघ्र सुधारात्मक कारबाही गरिएको थियो ।
यो सङ्गै अब राष्ट्र बैंकले यो बैंकलाई टेक ओभर गरेको छ । अब रास्ट्र बैंकले आबस्यक निर्णय गरी बैंकलाई अगाडि बढाउने छ । अब बैंकका हरेक काम राष्ट्र बैंकले गरेको निर्णय र सम्लङ्नतामा हुनेछ ।