प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आजदेखि हरेक शुक्रबार पार्टीका नेता तथा कार्यकर्तालाई केन्द्रीय कार्यालय पेरिसडाँडामा भेट्ने भएका छन् । सोही क्रममा प्रधानमन्त्री प्रचण्ड आज बिहान आठ बजे केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् ।
माओवादी केन्द्रले २०८० साल वैशाख १ गतेदेखि प्रधानमन्त्रीसँगै माओवादीबाट मन्त्री बनेकाहरुलाई केन्द्रीय कार्यालय पेरिसडाँडामै भेट्ने व्यवस्था मिलाउने निर्णय यसअघि गरेको थियो । सोही अनुसार प्रधानमन्त्री प्रचण्ड बिहानै केन्द्रीय कार्यालय पुगेका हुन् ।
माओवादी मन्त्रीहरुसँग भने अपराह्न ४ बजेदेखि ६ बजेसम्म भेट्ने समय निर्धारण गरिएको नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । कार्यालय समयमा मन्त्रीहरुलाई काममा डिस्टर्ब नहोस् र मन्त्रीहरुले सरकारकै काममा ध्यान दिउन् भनेर अपराह्न ४ बजे पछिको समय पार्टी कार्यालयमा दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।