जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिस्क्रित विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनिले ६२ लाख ८१ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने संस्था ३ करोड ९२ लाख घाटामा रहेको थियो ।
त्यस्तै कम्पनिको खुद ब्याज आम्दानीमा भने कमी आएको छ । तेस्रो त्रैमाससम्म संस्थाले २० करोड ८२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा १२.७० प्रतिशतले घटी हो ।
कम्पनिले खुद सञ्चालन आम्दानी भने ११.२५ प्रतिशतले बढेर २२ करोड ६७ लाख रुपैयाँ पुगेको छ । कम्पनिको कर्मचारी खर्च १६ करोड ३७ लाख र अन्य सञ्चालन खर्च ४ करोड ७५ लाख रुपैयाँ रहेको छ ।
संस्थाको रिटेन्ड अर्निङ ६ करोड ११ लाख रुपैयाँ रहेको छ । संस्थाको रिजर्भको आकार भने १७ करोड ६५ लाख रुपैयाँबाट बढेर २६ करोड ८३ लाख रुपैयाँ रहेको छ ।
यस अबधिमा कम्पनिको निक्षेप संकलन र कर्जा प्रवाह भने बढेको देखिन्छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म २ अर्ब ६८ करोड रुपैयाँ रहेको निक्षेप संकलन बढेर २ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
त्यस्तै कर्जा प्रवाह ४ अर्ब ८२ करोड रुपैयाँ रहेको देखिन्छ ।
कम्पनिले इम्पेयरमेन्ट चार्जका लागि ५ करोड १७ लाख रुपैयाँ छुट्टाएको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ४.५८ रुपैयाँ,प्रतिसेयर नेटवर्थ २८०.२४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ९६१.८८ रुपैयाँ,मूल्य आम्दानी अनुपात २६८.७७ गुणा र तरलता अनुपात १०.०९ प्रतिशत रहेको छ ।




