29.5 C
Nepal
Friday, September 20, 2024

सेञ्चुरीका २ सीईओसहित ११ पक्राउः देउराली सहकारीका सन्चालकको कम्पनिलाई ८० करोड धितोमा २ अर्ब ऋण दिएको आरोप

तत्कालीन सेञ्चुरी कमर्शियल बैंकका दुई जना सीईओ (तुलसीराम गौतम र मनोज न्यौपानेसहित ११ जनालाई मंगलबार नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ ।

तत्कालीन सेञ्चुरी बैंकका कर्मचारीहरु सुवास बहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ, सन्ध्या श्रेष्ठ, सविन श्रेष्ठ, दिलीप बराल, सुशील बस्नेत, राजेश भण्डारी, रमण श्रेष्ठ र दिपेश प्रधानलाई केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको हो ।

कमसल धितोका आधारमा बढी कर्जा प्रबाह गरेको आरोप उनिहरुलाई लागेको छ । ८० करोड रुपैयाँ बराबरको धितो राखेर २ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह भएको भेटिएपछी उनिहरुलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो । चौलागाईंका विभिन्न कम्पनीमा प्रवाह भएको कर्जा दुरुपयोग भएको पाइएको छ ।

श्रोतका अनुसार ठगी प्रकरणमा प्रहरी हिरासतमा रहेका देउराली बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंको बयानका आधारमा उनिहरुलाई पक्राउ गरिएको हो ।

चौलागाईंले समयमा कर्जा र कर्जाको साँवा ब्याज नतिरेपछि प्रभु बैंकले ऋणी तथा जमानीको धितो गत असोजमा लिलामीमा निकालेको थियो । दुईपटक धितो लिलामीको सूचना निकाल्दा पनि उक्त धितो बिक्री भएको छैन ।

चौलागाईंले सेञ्चुरी लगायत माछापुच्छ्रे, एनआईसी एशिया, सिटिजन्स, मेगा, बैंकबाट ऋण लिएका थिए । माछापुच्छ्रे बैंकले गत वर्ष नै चौलागाईंको धितो गैरबैंकिङ सम्पत्तिका रुपमा सकार गरिसकेको छ भने सिटिजन्स बैंकले असूली गरिसकेको छ ।

चौलागाईंले आफू अध्यक्ष भएको सहकारीका बचतकर्ताको रकमले जग्गा किन्ने र उक्त जग्गा बैंकमा धितोमा राखेर ऋण लिँदै आएका थिए ।

सहकारीका बचतकर्ताको ३ अर्ब रुपैयाँभन्दा बढी ठगी गरेको अभियोगमा गत असोज १८ गते सीआईबीले चौलागाईं पक्राउ गरेको थियो ।

बचतकर्तालाई कहिले पैसा दिन भाखा सार्ने, कहिले जग्गा दिने प्रलोभन देखाउन थालेपछि उक्त सहकारीको फाइल सहकारी विभागले सीआईबीमा थप अनुसन्धानका लागि पठाएको थियो ।

बचतकर्तालाई २२ प्रतिशतसम्म ब्याज दिने भन्दै बचतकर्ताबाट रकम उठाएर फिर्ता गर्न नसकेपछी हाल सहकारी सङ्कटग्रस्त बनेको छ ।

संचालक चौलागाई तथा उनका आफन्तहरुले पूजा मार्केटिङ, पूजा ट्रेडिङ एण्ड मार्केटिङ, थ्री ब्रदर्स मार्केटिङ र अन्नपूर्ण डिष्टिलरी प्रालिको नाममा लिएको कर्जाको समयमा नै साँवा ब्याज भुक्तानी नगरेपछि बैंकले ऋणी, जमानी तथा कम्पनीको नाममा भएको १८ स्थानको धितो लिलामीमा निकालेको हो ।

spot_img
Latest news
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here