नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपिओ आउने पक्का भएको छ । यसका लागि कम्पनिले धितोपत्र बोर्डबाट आईपीओ ल्याउने अनुमति पाएको छ।
सेबोनले नेपाल वेयरहाउजिङलाई १३ करोड ६५ लाख रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल १३ लाख ६५ हजार कित्ता आईपीओ ल्याउन अनुमती दिएको हो ।
यस कम्पनिले पहिलो चरणमा नियमानुसार कुल सेयर संख्याको १० प्रतिशत सेयर नेपाल सरकारबाट श्रम स्वीकृति प्राप्त गरी विदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गर्नेछ। त्यसपछि बाँकी आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।
यो कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा हिमालयन क्यापिटल लिमिटेडको रहेको छ।
कम्पनीले हालसम्म सुनसरी र पर्सा जिल्लामा ४० हजार मेट्रिकटन क्षमताको साइलोसहितको वेयरहाउस निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याएको छ भने कपिलवस्तु जिल्लामा १५ हजार मेट्रिक टन क्षमताको साइलो जडान भइरहेको छ र सोसमेत पुस महिनासम्ममा सञ्चालनमा आउनेछ।
यो कम्पनीको प्रमुख उद्देश्य खाद्यान्न भण्डारण गृह निर्माण गरी सो भण्डारण गृहमा कृषकहरुले उत्पादन गरेका खाद्यान्नलाई भण्डारण गर्ने सुविधा प्रदान गर्नु रहेको छ।
त्यस्तै कम्पनीले देशका तीनवटा महत्वपूर्ण स्थान सुनसरी, पर्सा र कपिलवस्तुमा साइलो प्रविधिमा आधारित खाद्यान्न भण्डारण गृह निर्माण गरी कृषक, कृषि वस्तु संकलक, खाद्यान्न प्रशोधक, औधोगिक प्रतिस्ठान तथा दाना उत्पादकहरुलाई भण्डारण सुबिधा प्रदान गर्ने छ। साथै भण्डारण गृहको परिसरमा वोलकवोलको माध्यमबाट खाद्यान्न किनबेच हुने वातावरण र पद्धतिलाई व्यवस्थित योजना कम्पनिको रहेको छ ।
कम्पनीका परियोजनाहरुको कुल लागत रु. १६२.७५ करोड रहेकोमा रु. ९४ करोड ऋणबाट र बाँकी स्वपुँजीबाट लगानी परिचालन गरिने छ ।
कम्पनीमा निम्बस समूह, शिखर इन्स्योरेन्स, प्रोबियोटक इन्डस्ट्रिज, श्रीनगर एग्रो फार्म, एनएमबि बैंक, टिम भेन्चर्स, टीएनआई, निफ्रा, मुक्तिनाथ कृषि, हिमालयन क्यापिटल, आइएमई जनरल इन्स्योरेन्स, हाथवे इन्भेस्टमेन्ट, अल्फा क्यापिटल, आध्यानता फन्ड म्यानेजमेन्टलगायतका लगानीकर्ताको लगानी रहेको छ।
कम्पनीको हालको चुक्तापुँजी रु. ५५ करोड रहेकोमा साधारण निष्कासनबाट रु. १३ करोड ६५ लाख जुटाइने कम्पनीले जनाएको छ।