त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर पठाइएका आठ पोका सामानभित्र तस्करीको करिब एक क्विन्टल सुन बरामद हुनुअगावै गिरोहले त्योभन्दा बढी परिमाणको सुन उम्काएको हुन सक्ने देखिएको छ । सुन काण्डमा मुछिएको रेडी ट्रेडले पछिल्लो दुई महिनामा १ हजार ९ सय ९७ किलो सामान ल्याएको पुष्टि भएको छ ।
क्याथे प्यासिफिक विमानमा कार्गो गरेर ल्याइएको रेडी ट्रेड फर्मको सामान मंगलबार त्रिभुवन विमानस्थलको भन्सारमा एक्सरे गर्दाको ‘इमेज रिडिङ’ ।
नेपाल, भारत र हङकङमा व्यावसायिक आवरणमा तस्करी धन्दा चलाएको गिरोहले मे, जुन र जुलाईमा पटक–पटक गरी ३ हजार ८ सय ८१ थान सामान ल्याएको भन्सारको अभिलेखबाट देखिएको छ । रेडी ट्रेडले २ हजार ७ सय थान सेभर (दाह्री काट्ने), एउटा मेकानिकल मोटर र १ हजार १ सय ८० थान ब्रेक सु भित्र्याएको हो । ती सामान जाँचपासबाटै बाहिर निकालिएका थिए । यसअघि सामान उम्काउन सफल भएकाले त्यसकै निरन्तरताका रूपमा पछिल्लो पटक एक क्विन्टल सुन आएको अनुसन्धानकर्मीको भनाइ छ ।
रेडीका नाममा मे १७ मा ६६ किलो, मे २१ मा ६६ किलो, मे २४ मा ६६ किलो, मे २६ मा ५२ किलो सेभर आएको थियो । त्यस्तै, जुन ६ मा १ सय ३२ किलो, ७ जुनमा ६६ किलो, १२ जुनमा ६६ किलो, जुन १६ मा १ सय २ किलो, जुन १९ मा ६६ किलो, जुन २२ मा ९९ किलो, ९ जुलाईमा ३३ किलो, १८ जुलाईमा ३२ किलो सेभर ल्याइएको थियो । ती सामान चीनको दोङगोन सुतु ट्रान्सपोर्टेसन कम्पनीले निर्यात गरेको हो । मे ३१ मा ल्याइएको ६६ किलोको मेकानिकल मोटरको निर्यातकर्ता ताइवानको तालमड कम्पनी रहेको अभिलेख छ । यस्तै, रेडीकै नाममा मे २४ मा ३४ केजी, मे २८ मा ३८ केजी, मे ३१ मा ३८ केजी ब्रेक सु आएको थियो । जुन ६ मा ५७ केजी, जुन ७ मा ३९ केजी, जुन १२ मा ३८ केजी, जुन १४ मा ७८ केजी, जुन १८ मा ३८ केजी, जुन २३ मा ५८ केजी, जुन २६ मा १९ केजी, जुन २८ मा ७६ केजी ब्रेक सु भित्र्याइएको थियो । यस्तै, जुलाई ३ मा १ सय १४ केजी, जुलाई ६ मा ७६ केजी, जुलाई ९ मा १ सय १४ केजी, जुलाई १२ मा १ सय १६ केजी, जुलाई १८ मा १ सय ५२ केजी र जुलाई २४ मा ३४ केजी ब्रेक सु रेडी ट्रेडकै नाममा ल्याइएको थियो । ब्रेक सु चीनकै जियाङनेन फेङटोङ ट्रान्सपोर्टेसन कम्पनीले पठाएको थियो ।
तस्करीको सुन पास गराउनकै लागि रेडी ट्रेड फर्म खोलिएको अनुसन्धानमा देखिएको छ । हङकङबाट क्याथे प्यासिफिकको उडानमा असार २९ (शुक्रबार) ३६ वटा कार्टुन आएको पुष्टि भएको छ । ८ कार्टुन मात्र राजस्व अनुसन्धानले बरामद गरेको छ ।
यो सामान स्क्यानरमा हाल्दा कैफियत देखिएको थियो । स्क्यानरले कालो (शंकास्पद) चित्र देखिएपछि खोलेर पूर्ण जाँच गर्नुपर्नेमा भन्सारका अधिकारीहरूले कार्टुन रेडीका एजेन्टलाई जिम्मा दिएका थिए । सबैको सिपर कम्पनी ट्रान्स ग्लोबल हो । तीमध्ये आइतबार ५ कार्टुन, सोमबार १० कार्टुन र मंगलबार ८ कार्टुन भन्सार जाँचपास गरिएको थियो । राजस्वको टोलीले रेडी ट्रेडका नाममा आएका ८ कार्टुन मात्र बरामद गरेको हो । तर, रेडी ट्रेडकै नाममा आइतबार र सोमबार जाँचपास गरिएका १५ कार्टुन सामान सहजै गिरोहले फुत्काएको हो ।
रेडीको सामान क्याथेमा कार्गो गर्दा लिथियम ब्याट्रीका नाममा बुक गरिएको थियो भने भन्सार जाँचपासमा ८ पोका सामानलाई स्कुटरको ‘ब्रेक सु’ उल्लेख गरिएको थियो । बरामद सामान खोलेर हेर्दा करिब क्विन्टल सुन फेला परेको थियो । भन्सार पास गरिएका सामानबाटै गिरोहले यसअघि तस्करीको सुन भित्र्याएको हुन सक्ने आधारमा अनुसन्धान भइरहेको स्रोतको भनाइ छ ।
सुन तस्करीको संयोजन गर्न चीन, नेपाल र भारतीय गिरोह संगठित रूपमा लागेको अनुसन्धानबाट देखिएको छ । तर, अहिलेसम्म सहयोगीहरू मात्र पक्राउ परेका छन् । अनुसन्धानकर्मीहरू मुख्य योजनाकारसम्म पुगेका छैनन् । अनुसन्धानकर्मीले भने ठेकेदारको नजिक पुगेको बताएका छन् । निगरानीमा परेका व्यापारी पछिल्लो पटक जुन २६ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत गएको देखाउँछ । त्यतैबाट हङकङ पुगेका उनी जुलाई ५ मा दुबई हुँदै नेपाल आएको देखिन्छ । उनी नेपाल आएपछि हङकङबाटै नेपालमा सुन भित्रिएको खुलेको छ । तर अनुसन्धान निष्कर्षमा नपुगेको भन्दै अधिकारीहरूले नाम पुष्टि गर्न चाहेनन् ।
‘नेपालमा बैंकिङ, सेयरलगायतका क्षेत्रमा बदनाम भएका व्यक्ति यो तस्करीसँग जोडिएका छन्, अनुसन्धान त्यसैमा केन्द्रित गरेका छौं,’ स्रोतले भन्यो, ‘हङकङ र भारतमा रहेको गिरोहको एजेन्टका रूपमा काम गर्ने दुईसहित १० जना यो अनुसन्धानमा पक्राउ परिसकेका छन् । थप अनुसन्धान भइरहेको छ ।’
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि हालै बरामद भएको सुनको खपत नेपालको बजारमा नभई अन्यत्र हुन सक्ने र त्यसलाई समेत मध्यनजर गरेर अनुसन्धान भइरहेको बताएका छन् । ‘प्रारम्भिक अनुसन्धानबाट दुईवटा कुरा देखिएका छन्, पहिलो विदेशी नागरिक पनि संलग्न छन् । दोस्रो देशभित्रको खपतका लागि मात्र ल्याइएको देखिँदैन,’ श्रेष्ठले भने, ‘प्रारम्भिक रूपमा जहाँ–जहाँ कनेक्सनमा देखिएको छ, ती मान्छे पक्राउ परेका छन् । रेडी ट्रेडको कनेक्सन को–कोसँग थियो भन्नेबारे प्रारम्भिक अनुसन्धानमा देखा परेका पात्र पनि अनुसन्धानमा छन् ।’
विमानस्थलको भन्सार पार गरेको सुन बरामदपछि राजस्व अनुसन्धान विभागले लाजिम्पाटको कम्फर्ट अपार्टमेन्टमा बस्दै आएका भारतीय नागरिक थुप्तेन छिरिङ र एयर चाइनाबाट चीन जाने लागेका चिनियाँ नागरिक ३६ वर्षीय जेक्युयाङ लीन विमानस्थल अध्यागमन डेस्कबाट पक्राउ परेका थिए । दुवै विदेशी सुन तस्करीमा संलग्न मुख्य गिरोहका सहयोगी रहेको खुलेको छ । चिनियाँ नागरिक लीन नेपालमा सुन बरामदपछि भागेर चीनको छेन्दु फर्किन लागेका थिए । त्यसको सुइँको पाएर अध्यागमन डेस्कबाट सरकारी अधिकारीले उनलाई नियन्त्रणमा लिई विभागको जिम्मा लगाएका थिए । उनी तीन महिनादेखि बालुवाटारस्थित एक घरमा भाडामा बस्दै आएका थिए ।
ब्रेक सुको आवरणमा जाँचपास गर्ने विमानस्थलका भन्सार अधिकृतसहित तीन जना निलम्बनमा परेका छन् । भन्सार एजेन्ट राजेन्द्र राई, ट्याक्सी चालक अशोक लामा, रेडी ट्रेडका सञ्चालक दिलीप भुजेल र उनका मामा रामकुमार भुजेल, त्यसपछि हर्कराज राई, राजन श्रेष्ठ, कृष्ण श्रेष्ठ, पुस्करराज भट्ट पक्राउ परिसकेका छन् । यसअघि रेडी ट्रेडलगायत फर्मका नाममा आएका मालवस्तुको भन्सार रेकर्ड पनि अनुसन्धानकै क्रममा रहेको एक अधिकारीले बताए । यता क्विन्टल सुन तस्करीसम्बन्धी अनुसन्धान गरिरहेको विभागले तीन जना अधिकृत सम्मिलित छुट्टै विशेष संयन्त्रमार्फत छानबिन थालेको छ । राजस्व अनुसन्धानमा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली पनि यो अनुसन्धानमा संलग्न गराइएको छ ।
सुन तस्करी प्रकरणमा पक्राउ परेकामाथि अनुसन्धान गर्न राजस्व अनुसन्धान विभागका तीन जना निर्देशक (उपसचिव) सहित पाँच जनाको विशेष टोली गठन गरेर प्रारम्भिक बयान सुरु गरेको छ । सुरक्षा व्यवस्थामा थप कडाइ गरेर सर्वसाधारणलाई सामान्य रूपमा विभागमा आउजाउसमेतमा रोक लगाइएको छ । अनुसन्धान अधिकृतहरूको फोनसमेत बन्द गर्न लगाइएको छ । अनुसन्धानमा प्रभाव पर्न नदिन पक्राउ परेकासँग भेटघाटमा कडाइ गरिएको छ । अनुसन्धान टोलीले पक्राउ परेका चिनियाँ र भारतीय नागरिक, भन्सार एजेन्ट, कार्गो व्यवसायी, फर्म सञ्चालक, ट्याक्सी चालकसहित १० जनालाई जिल्ला प्रहरी कार्यालय ललितपुरको हिरासतमा राखिएको छ ।
पक्राउ परेकाबाट प्राप्त सूचनाका आधारमा तस्करीमा संलग्न खास व्यक्तिसम्म पुग्ने कोसिस भइरहेको विभाग स्रोतले जानकारी दियो । चिनियाँ र भारतीय पक्राउ परेकाले उनीहरूबाटै खास मुख्य तस्करसँग पुग्ने जानकारी विभाग स्रोतले दियो । राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अनुसन्धान टोलीले सूक्ष्म रूपमा काम गरिरहेको जानकारी दिए । उनले भने, ‘अहिले घटनाको जरैसम्म पुग्ने कोसिस भइरहेको छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट जाँचपास गराएर सिनामंगल सडकमा ट्याक्सीमा राख्ने क्रममा मंगलबार बरामद गरेको ८ वटा पोकामा करिब सय किलो सुन फेला परेको थियो । तस्करी प्रकरणमा पक्राउ परेका १० जनालाई उच्च अदालतबाट म्याद थप गरेर प्रारम्भिक बयान सुरु गरिएको हो । पक्राउ पर्नेमा चिनियाँ नागरिक जेक्वाङ लीन, थुप्तेन छिरिङ, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, उनका मामा रामकुमार भुजेल, कार्गो ट्रान्स ग्लोबल सर्भिसका कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट, एलिस ट्रान्स ग्रुपका सञ्चालक राजन श्रेष्ठ, ट्याक्सी चालक अशोक लामा, भन्सार एजेन्ट राजेन्द्रकुमार राई र सहयोगी हर्कराज राई छन् ।
भन्सार विभागले विमानस्थल भन्सार कार्यालयका एक्स–रे अपरेटर सरोज श्रेष्ठलाई निलम्बन गरेको छ । उनले सुन राखेको पोका एक्स–रे गर्दा स्क्रिनमा कालो धब्बा देखिएकाले पुनः जाँच गर्नुपर्ने संकेत लेखेका थिए । शंका लागेमा संकेतस्वरूप त्यस्तो वस्तुमा आरसी (रि–चेक) लेख्ने चलन छ । उनले आरसी लेखेका थिए । सीसी क्यामेरामा आरसी लेखेपछि पनि जाँचकीले पुनः जाँच गरेको देखिन्छ । विमानस्थल भन्सार स्रोतका अनुसार फेरि जाँच गर्दा पनि सुन वा अवैध वस्तु हो भन्ने पहिचान नभएको दाबी छ ।
एक्स–रे अपरेटर लामो समयदेखि भन्सारमा कार्यरत भएकाले उनीमाथि पनि शंका गरिएको छ । भन्सारका एक अधिकृतले भने, ‘सुन राखेको पोकामा आरसी लेखे पनि सामानमा कैफियत देखाएको विषयलाई सामान्य रूपमा लिएकाले अपरेटरमाथि शंका लागेको हो ।’ अपरेटरले सामानमा शंका लागेको भन्दै गहिरिएर जाँच गरेर मात्र छाड्नुपर्ने सूचना दिएको भए सामान बाहिर जान रोकिने बुझाइ भन्सार अधिकारीहरूको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले अपरेटर श्रेष्ठलाई निलम्बन गरेको जानकारी दिए । महानिर्देशक पौडेलले राजस्वले गर्ने अनुसन्धानमा सबै खालका सहयोग गरेको बताए । यसअघि विमानस्थल भन्सारका जाँचकी कुमार ढकाललाई निलम्बन गरिएको थियो । जाँचपासमा संलग्न अधिकृत सन्तोष चन्दलाई निलम्बनका लागि अर्थ मन्त्रालयमा झिकाइएको छ ।
आजको कान्तिपुरबाट साभार