काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडले आजदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको छ। कम्पनीले हाल कायम रहेको ४० करोड रुपैयाँ बराबरको चुक्तापूँजीमा १ः१ अनुपातमा हकप्रद सेयर जारी गरेको हो। यस अनुसार कम्पनीले रु. १०० अंकित दरमा ४० लाख कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको छ।
हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ५ गते बुक क्लोज मिति तय गरेको थियो। त्यसअनुसार जेठ ४ गतेसम्म नेप्सेमा कारोबार गरी नाम दर्ता गराएका सेयरधनीहरू मात्रै यो हकप्रदमा आवेदन दिन योग्य छन्।
हकप्रद सेयरमा आवेदन दिने अन्तिम मिति साउन ४ गते तोकिएको छ। यस हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले लिएको छ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रद सेयर निष्कासनका लागि स्वीकृति प्राप्त गरिसकेको हो।
हकप्रद बिक्रीबाट संकलित रकम कम्पनीले प्रवर्द्धन गरिरहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण, अन्य लाभदायक जलविद्युत कम्पनीमा लगानी तथा बैंकको ऋण भुक्तानीमा खर्च गर्ने जनाएको छ।
सेयरधनीहरूलाई तोकिएको समयसीमाभित्र आवेदन दिन कम्पनीले आग्रह गरेको छ।