कोशी प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले बिहीबार मुख्यमन्त्रीमा दाबी पेश गर्ने भएका छन् ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका सांसदहरुको पनि समर्थन लिएर थापा बिहीबार साढे ४ बजे मुख्यमन्त्रीमा दाबी पेश गर्न प्रदेश प्रमुखको कार्यालय जान लागेका हुन् ।
प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ (२) अनुसार बिहीबार साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका थिए ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बिहीबार साढे ४ बजे थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताए । उनले सभामुखसहित ४७ जना सांसदको समर्थनमा थापाले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी भएको पनि बताए ।
कोशी प्रदेशसभाका ९३ सांसदमध्ये कांग्रेसका २९, माओवादी केन्द्रका सभामुखसहित १३, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४७ प्रदेशसभा सदस्यको समर्थन थापालाई छ । कांग्रेसले राप्रपाको पनि समर्थन लिने प्रयास गरे पनि सफल हुन सकेन ।