बचतकर्ताको उजुरी परेपछी बेनीमा सञ्चालित शिवशिखर बहुउद्देश्यीय सहकारीविरुद्धको अनुसन्धान प्रक्रिया प्रहरीले अघि बढाएको छ ।
विगत पाँच महिनादेखि बन्द रहेको बेनीस्थित न्यूरोडमा आफ्नै भवनमार्फत सेवा केन्द्र विस्तार गरी बचत सङ्कलन र लगानी गर्दै आएको उक्त सहकारीका कर्मचारी र व्यवस्थापक चार महिनायता सम्पर्कविहीन भएपछि बचतकर्ताको प्रहरीमा उजुरी दिएका थिए ।
सहकारी विभागको अनुसन्धानसम्बन्धी सिफारिस र केन्द्रीय अनुसन्धान ब्यूरोबाट परिपत्र भएपछि अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक किरण लामाले जानकारी दिए ।
उनका अनुसार अन्य बचतकर्ताले पनि जाहेरी दिने क्रम बढेको छ । मध्यपुर ठिमी नगरपालिका–३ कौशलटार भक्तपुरमा दर्ता भएको शिवशिखर बहुउदेश्यीय सहकारीले बेनीमा सदस्य सेवा केन्द्र विस्तार गरेको थियो ।
सहकारीले पाँच महिनाअघि आर्थिक सङ्कटमा रहेको सूचना प्रकाशित गरी कारोबार बन्द गरेको थियो ।