नेपाल स्टक एक्सचेन्ज (नेप्से)को सञ्चालक समिति (बोर्ड) को बुधवार बस्ने बैठकले नयाँ ब्रोकर कम्पनीलाई कारोबार सदस्यता प्रदान गर्ने र नेप्से–३० सञ्चालनमा ल्याउने बिषयमा छलफल भई टुङ्गोमा पुग्ने छ ।
नेप्से सञ्चालक समितिले अनुमति दिएमा नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट लाइसेन्स पाएका ७ वटा नयाँ ब्रोकर कम्पनीहरुले भोलि नै कारोबार सदस्यता पाउनेछन्। यदि भोलि यो विषयमा टुंगो लागेमा ती नयाँ ब्रोकर कम्पनीले यही असारभित्रै कारोबार सञ्चालन गर्ने सम्भावना पनि छ।
नेप्सेले नयाँ ब्रोकर कम्पनीहरु सन सेक्युरिटिज, हिमालयन ब्रोकरेज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज, क्यापिटल म्याक्स सेक्युरिटिज र प्रोपर्टी विजार्डलाई कारोबार सदस्यता प्रदान गर्ने तयारी गरेको हो।
सेबोनमा आवेदन दिएका ४३ वटा कम्पनीमध्ये १८ वटा कम्पनीले नयाँ ब्रोकर लाइसेन्स पाएका थिए। सेबोनबाट दोस्रो चरणमा लाइसेन्स पाएका ११ वटाले पनि कारोबार सदस्यताका लागि नेप्सेमा निवेदन दिइसकेका छन्। ‘तीमध्ये १० वटा कम्पनीको फाइनल अध्ययन गरेर कारोबार सदस्यता प्रदानका लागि आशयपत्र (एलओआई) दिइएको छ’, प्रवक्ता पराजुलीले भने।