15.4 C
Nepal
Thursday, October 24, 2024

सुरक्षा खतराले काठमाडौंका हलमा रोकियो ‘आदिपुरुष’को बिहानी प्रदर्शन

भारतीय फिल्म ‘आदिपुरुष’लाई लिएर सिता भारतीय हुन भन्ने डाइलगलाई लिएर विवाद चर्किएपछि चलचित्र संघको निर्देशनमा काठमाडौं उपत्यकाका सबै फिल्म हलले शुक्रबार बिहानको प्रदर्शन रोकेका छन् ।

क्यूएफएक्स, आइएनआई, बिग मूभिज, वान सिनेमाज्सहित मल्टिप्लेक्सले बिहानी शोलाई स्थगित गरेका हुन् । फिल्म हलको छाता संस्था चलचित्र संघले मुलुकभरका सबै हललाई सर्कुलर पठाउँदै विकसित परिस्थितीको कारण काठमाडौं उपत्यकाभित्रका सबै हलमा ‘आदिपुरुष’को बिहानी शो अनिवार्य रोक्न र उपत्यकाबाहिर परिस्थिती हेरेर चलाउन निर्देशन दिएको छ ।

सुरक्षा त्रासको कारण हलहरुले बिहानी शो रोकेका हुन् । तोडफोड हुनसक्ने , हुलदङ्गा हुनसक्ने वा नगर प्रहरिले रोक्न सक्ने भएपछी सो रोकिएको हो ।

त्यसैले छाता सङ्थाको निर्देशनको पालना गर्दै हलहरुले प्रदर्शन रोकेका हुन् । बिहानी शोमा विक्री भैसकेका टिकटको रकम फिर्ता गर्ने वा यदि चलेको खण्डमा अर्को शोमा मिलाउने ब्यवस्था हलहरुले गरेका छन् । चलचित्र विकास बोर्डको बक्सअफिस डेटाअनुसार बिहीबार रातीसम्म १५ लाख रुपैयाँ (६ हजार टिकट) बराबरको आदिपुरुषको टिकट विक्री भैसकेको देखिएको छ ।

चलचित्र संघले बोलायो आकस्मिक बैठक

काठमाडौं महानगरका मेयर बालेन शाहको अभिव्यक्तिपछि उत्पन्न परिस्थितीलाई लिएर चलचित्र संघले शुक्रबार बिहान आकस्मिक बैठक बोलाएको छ । बैठकमा बालेनको अभिव्यक्तिबारे छलफल हुने र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुने जनाइएको छ ।

‘हिन्दी फिल्मलाई लिएर विगतमा भएका घटनालाई लिएर गम्भीर छौं । बालेनजीको भनाई र आदिपुरुषको प्रदर्शनलाई लिएर निर्णय हुन्छ । बालेनजीले कुन सन्दर्भमा बोल्नुभएको हो, त्यो कुराको छलफल हुन्छ । उहाँले समय तोकेरै सबै हिन्दी फिल्म रोक्ने अभिव्यक्ति दिनुभएको छ । कसरी अघि बढ्ने निधो गर्छौं’ संघका एक सदस्यले भने ।

मेयर शाहले फिल्ममा समावेश जानकी भारतकी छोरी हुन् भन्ने विवादित अभिव्यक्तिलाई भारतमा समेत नसच्चाएसम्म काठमाडौं महानगरमा फिल्म प्रदर्शन हुन नदिने स्टाटस लेखेका थिए । उनले तीन दिनको डेट तोकेरै लेखेकाले चलचित्र संघले यसबारे बैठक बोलाएको हो । तर, नेपालको सेन्सर बोर्डले भने विवादित वाक्य हटाउँदै फिल्मलाई प्रदर्शनको अनुमति दिइसकेको छ ।

यसैबीच केही सांसद र दलको भातृ संगठनका नेताहरुले पनि फिल्मलाई लिएर विरोध जनाइरहेका छन् । फिल्म निकायका सबै संस्थाले पनि फेसबुकमा स्टाटस लेख्दै आपत्ति व्यक्त गरिरहेका छन् । केही भारतीय संचारमाध्यमले समेत यो प्रकरणलाई प्राथमिकता दिँदै समाचार प्रकाशन प्रसारण गरेका छन् ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here