14.8 C
Nepal
Thursday, October 24, 2024

चीन र साउदीबीच अर्बौं डलरको लगानी सम्झौता

काठमाण्डौ । चीनले मध्यपूर्वमा लगातार आफ्नो प्रभाव बढाइरहेको छ। 

यही सिलसिलामा चीन–अरब व्यापार सम्मेलनको पहिलो दिन आइतबार रियादमा साउदी अरब र चीनबीच अर्बौं डलरको लगानी सम्झौता भएको छ। लगानी सम्झौताका सम्बन्धमा साउदी पक्षले जारी गरेको विज्ञप्तिमा यो सम्मेलन अरब क्षेत्र र चीनको आपसी हितमा भविष्य निर्माण गर्ने उत्कृष्ट अवसर भएको उल्लेख छ।

साउदीले पहिलोपटक चीन–अरब व्यापार शिखर सम्मेलन आयोजना गरेको हो। सम्मेलन सोमबार सकिँदैछ। 

समाचार एजेन्सी एएफपीका अनुसार साउदीको लगानी मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै दुईदिने सम्मेलनमा अरब देश र चीनका ३ हजार ५०० सरकारी अधिकारी तथा व्यापारीको सहभागिता रहेको जनाएको छ। ‘सम्मेलनको पहिलो दिन १० अर्ब डलरको लगानी सम्झौतामा हस्ताक्षर भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यीमध्ये धेरैजसो लगानी साउदी अरेबियाका परियोजनाहरुमा छन्।’

सम्मेलनमा साउदीको लगानी मन्त्रालय र विद्युतीय सेल्फ ड्राइभिङ कार बनाउने चिनियाँ कम्पनी ह्युमन होराइजन्सबीच ५.६ अर्ब डलरको समझदारीपत्रमा हस्ताक्षर भएको थियो।

सम्मेलनको उद्घाटन गर्दै साउदीका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले चीन र अरब देशबीचको बढ्दो व्यापार र आर्थिक सम्बन्धका बारेमा चर्चा गरे। ‘यो बैठक हाम्रो (अरब देश र चीन) जनताका लागि नयाँ लाभदायक युग सिर्जना गर्ने अवसर हो’, उनले भने।

विज्ञप्तिअनुसार साउदी अरेबियामा फलामको कारखाना स्थापना गर्न साउदीको एएमआर अलुवला कम्पनी र हङकङको झोङहुआन इन्टरनेसनल ग्रुपबीच ५३ करोड ३० लाख डलरको सम्झौता भएको छ।

सम्मेलनमा साउदी एएसके ग्रुप र चाइना नेसनल जियोलोजिकल एन्ड माइनिङ कर्पोरेसन अफ चाइनाबीच साउदी अरबमा तामा उत्खननका लागि ५० करोड डलरको सम्झौता भएको छ। तेल उत्पादक देश ओपेकको सबैभन्दा ठूलो तेल उत्पादक देश साउदी अरेबियाले विदेशी लगानी आकर्षित गर्न विभिन्न कदम चालिरहेको छ। 

चीन साउदीको सबैभन्दा ठूलो व्यापार साझेदार हो। सन् २०२१ मा साउदी–चीन द्विपक्षीय व्यापार ८७.३ अर्ब डलर पुगेको थियो। जनवरी र अक्टोबर २०२२ को बीचमा यो बढेर ४९५.४६ अर्ब डलर पुगेको छ। साउदीले आफ्नो ऊर्जा क्षेत्रमा मात्र नभई उद्योग, सेवा, धातु, खानी र पर्यटनमा पनि चीनले लगानी गरोस् भन्ने चाहन्छ। –एजेन्सी

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here