14.8 C
Nepal
Thursday, October 24, 2024

नेपालबाट समुद्रसम्म पानी जहाज चलाउन बाटो खुल्यो

नेपालको वैदेशिक व्यापार सहजीकरणका लागि निकै महत्वपूर्ण मानिने नेपाल–भारत पारवहन सन्धि १९९९ संशोधनसहित नवीकरण भएको छ । सन् २०१९ मै म्याद सकिए पनि सन्धिको परिमार्जनका विषयमा सहमति हुन नसक्दा नवीकरण हुन सकेको थिएन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सन्धि संशोधनमा हस्ताक्षर पनि एक हो ।

विगत ४ वर्षसम्म पारवहन सन्धि नवीकरण नै नभएको अवस्थामा यसमा हस्तक्षर हुनु महत्वपूर्ण भएको प्रधानमन्त्रीको भ्रमण टोलीमा रहेका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनीले बताए ।

बिहीबार भारतको नयाँ दिल्लीमा भएको दुई देशका प्रधानमन्त्रीको संयुक्त पत्रकार सम्मेलनमा उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल र भारतका वाणिज्यमन्त्री पियूष गोयलबीच सन्धिसम्बन्धी सम्झौतापत्र आदानप्रदान भएको हो । ‘नेपालजस्तो भूपरिवेष्ठित मुलुक पारवहन सन्धि नवीकरण नै नभई रहँदा सहज भएको थिएन। यो महत्वपूर्ण उपलब्धि हो’ मरासिनीले भने । नेपालले अब सडक, रेल र जल तीनवटै मार्गबाट समुद्रसँगको पहुँच पाएको उनले बताए ।

सन्धिको नवीकरणपछि नेपालबाट समुद्रसम्म पानी जहाज सञ्चालनको बाटो खुलेको छ भने नेपालले भारत र तेस्रो देशसम्मको व्यापारका लागि जलमार्गसहित थप सुविधा पाएको छ ।

भारतले गंगा नदीमा आन्तरिक जलमार्गको विकास गरेको छ । नेपालले आफ्ना नदीमा आन्तरिक जलमार्ग विकास गरेको खण्डमा नेपालले गंगा नदीको जलमार्गमार्फत समुद्रसम्मको पहुँच पाउने यस मामलाका जानकार वाणिज्य मन्त्रालयका पूर्वसहसचिव रविशंकर सैंजुले बताए ।

spot_img
spot_img
Related news

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here