ऊर्जा तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले भारतको नयाँ संसद् भवनमा राखिएको भित्ते चित्रमा नेपाली भूमि पनि रहेको भन्ने कुराको जानकारी नेपाल सरकारको नोटिसमा रहेको बताएका छन् । प्रमुख प्रतिपक्षी एमालेका सांसद ठाकुरप्रसाद गैरेले भारतको संसद् भवनमा नेपाली भूमि समाबेश भएको नक्सा राखिएको बारे सोधेका थिए सो प्रश्नको जवाफ दिदै उनले नेपाली भुमी भारतीय नक्सामा रहेको बिषय जानकारीमा रहेको बताएका हुन ।
सांसद गैरेले सोधेका थिए, ‘तपाईं प्रधानमन्त्रीको भारत भ्रमण दलको सदस्य पनि हुनुहुन्छ । भारतीय संसद् भवनको नक्सामा नेपालको लुम्बिनी र कपिलवस्तुको नाम पनि रहेको विषय आएको छ । यस सन्दर्भमा भ्रमणमा के भएको हो ? सरकारको ध्यान पुगोस् भन्ने आग्रह गर्न चाहन्छु ।’
जवाफमा मन्त्री बस्नेतले भने, ‘यो विषय सरकारको नोटिसमा रहेको छ । कुन प्रकृतिको हो बुझ्न आवश्यक छ ।’ मन्त्री बस्नेतले भारतको बिहारमा पनि ती नामका ठाउँ रहेको कुरा आइरहेको पनि बताएका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल बुधबार भारत भ्रमणमा जाने कार्यक्रम रहेको छ । जसमा पाँच मन्त्री सहभागी छन् । भारतले केही दिन पहिले मात्रै नयाँ संसद् भवनमा भारतको ‘अखण्ड भारत’ नक्सा राखेको थियो । जसमा लुम्बिनी र कपिलवस्तुलाई पनि भारतभित्र देखाइएको थियो ।