नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा एकीकृत समाजवादी पार्टीको अस्तित्व अब सकिएको बताएका छन्। अब त्यो पार्टी चल्न नसक्ने उनको जिकिर छ ।
एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव भागवत विश्वासी, सदस्यद्वय तथा पूर्व सांसद हिराचन्द्र केसी र शारदा स्वर्णकार, जिल्ला अध्यक्ष सुरामणी बेलबासे, उपाध्यक्ष चुर्ण वली, सचिव डिल्लीबहादुर डाँगीसहित झन्डै चार सय जना नेता कार्यकर्ता फेरि एमालेमा फर्किएपछि महासचिव पोखेरेलले त्यस्तो जिकिर गरेका हुन्।
‘कुनै दिन माधवजीले षड्यन्त्रपूर्वक एमालेलाई कमजोर पार्न, सिध्याउन र पराजीत गर्नकै लागि पार्टी विभाजन गर्नु भएको थियो,’ उनले भने, ‘अब उहाँका षड्यन्त्रका तानाबाना सबै समाप्त भइसकेका छन्, एमालेलाई सिध्याउने षड्यन्त्र २० प्रतिशतले पार्टी फुटाउने कानुन बनाई फेरि त्यो फिर्ता नभएको भए अहिले जितेका समाजवादीका सांसदहरू सबै एमालेमा आइसकेका हुन्थे।’
महासचिव पोखरेलले नेकपा माओवादी केन्द्रको अस्तित्व पनि संकटमा परेको दाबी गरे।
माओवादीले ठूला दलहरूबीचमा खेलेर वा भाँजो हालेर आफ्नो अस्तित्व जोगाउन नसक्ने उनले बताए।
अहिलेको आर्थिक मन्दीको प्रमुख कारण शेरबहादुर देउवा र पुष्पकमल दाहाल भएको उनले आरोप लगाएका थिए। पूर्व-अर्थमन्त्री जनार्दन शर्माले व्यापारीलाई राखेर करका दरहरू हेरफेर गर्दा कारवाही नगरी उनमुक्ति दिएका कारण देशमा अहिले आर्थिक संकट चुलिएको उनको भनाइ थियो।
‘सिसिटिभी फुटेज गायब पार्ने र जनार्दनलाई जोगाउने खेलका कारण देशले अहिले आर्थिक संकट व्यहोर्नुपरेको हो,’ उनले भनेका थिए, ‘यो दोष शेरबहादुर र प्रचण्डहरूकै थियो।’