नेपालमै बनेको पहिलो सवारीसाधन ‘यात्री’ मोटरसाइकलको दर्ता प्रक्रिया सुरु भएको छ।
नेपालमै उत्पादित सवारीसाधनको दर्ता प्रक्रियामा रहेको आयातका क्रममा प्राप्त हुने प्रतीतपत्र देखाउनु नपर्ने भएसङ्गै यात्री मोटरसाइकलको दर्ता प्रक्रिया सुरु भएको हो। यात्री बाइक लामो समयबाट कानुन अभाबमा दर्ता हुन सकेको थिएन ।
यसअघिको संघीय कानुन, यातायात तथा सवारी ऐन–२०४९ र २०७४ मा संशोधित यातायात व्यवस्थापन निर्देशिका, २०६० ले सवारी दर्ताका लागि सक्कल भन्सार प्रज्ञापनपत्र र भन्सार महसुल तिरेको रसिद अनिवार्य बुझाउनुपर्ने व्यवस्था गरेको थियो । हाल यो निर्देशिकामा संशोधन भएर नेपालमै उत्पादित यात्री मोटरसाइकलको दर्ता सुरु भएको हो। मूल्य अभिवृद्धि कर (भ्याट) बिल र अन्तःशुल्क निकासी फारमका आधारमा यात्री मोटरसाइकल दर्ता सुरु भएको हो ।
यातायात व्यवस्था कार्यालय गुर्जुधारामा पी–१को ‘बागमती प्रदेश ०२ बा ४३ प ८६५० नम्बर’को पी–१ बाइकले पूर्ण रुपमा नेपालमा उत्पादित पहिलो सवारीका रुपमा दर्ता भएको छ । सन् २०२२ देखिनै यात्रीले व्यावसायिक रुपमा मोटरसाइकलन उत्पादन सुरु गरेको थियो। तर, दर्ता गर्न नपाउँदा केही महिनाअघि उत्पादन समेत बन्द भएको थियो। नेपालको उत्पादनले दर्ता नपाएपछी सरकारको समेत चर्को आलोचना भएको थियो ।