कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा तथा नेपाल सरकारबाट श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्कासन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका कुल ४९ लाख कित्ता साधारण सेयर निष्कासन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ। यसमध्ये सर्वसाधारणलाई छुट्याइएको सेयरबाट आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि १४ लाख कित्ता तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि ३ लाख ५० हजार कित्ता सेयर छुट्याइएको छ।
आयोजना प्रभावित स्थानीय बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उनीहरूका लागि आईपीओ छिटोमा वैशाख २४ गतेसम्म र ढिलोमा वैशाख ९ गतेसम्म खुला रहने कम्पनीले जनाएको छ।
स्थानीय बासिन्दाका लागि छुट्याइएको १४ लाख कित्तामध्ये ९ लाख १० हजार कित्ता सेयर अति प्रभावित क्षेत्रका बासिन्दामा बाँडफाँट गरिनेछ। यसअन्तर्गत बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका वडा नं. ४ र ५, बित्थडचिर गाउँपालिका वडा नं. ६ र ८, बुंगल नगरपालिका वडा नं. ३, ४, ६, ८ र ५, बैतडी जिल्लाको डिलासैनी गाउँपालिका वडा नं. १ र २ तथा दार्चुला जिल्लाको शैल्यशिखर नगरपालिका वडा नं. १ का स्थायी बासिन्दाहरू पर्नेछन्।
बाँकी ४ लाख ९० हजार कित्ता सेयर बझाङको केदारस्यूँ गाउँपालिका, बित्थडचिर गाउँपालिका र बुंगल नगरपालिका, बैतडीको डिलासैनी गाउँपालिका तथा दार्चुलाको शैल्यशिखर नगरपालिकाका अति प्रभावित क्षेत्रबाहेकका अन्य वडाका स्थायी बासिन्दालाई बाँडफाँट गरिनेछ।
त्यसैगरी सर्वसाधारण लगानीकर्ताका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बराबरका ३ लाख ५० हजार कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरिने कम्पनीले जनाएको छ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। उनीहरूका लागि आईपीओ छिटोमा चैत १५ गतेसम्म र ढिलोमा चैत २४ गतेसम्म खुला रहनेछ।
कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। आयोजना प्रभावित स्थानीय बासिन्दाले बिक्री प्रबन्धकसँगै आयोजनास्थल कार्यालय, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको केदारस्यूँ–१ शाखा, ग्लोबल आइएमई बैंकको जयपृथ्वी नगरपालिका–१० बझाङ शाखा, गोकुलेश्वर तथा शैल्यशिखर–९ दार्चुला शाखा, कुमारी बैंकको छबिसपाथिभारा गाउँपालिका बझाङ तथा डिलासैनी गाउँपालिका बैतडी शाखा र कृषि विकास बैंकको बुंगल नगरपालिका–४ बझाङ शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सेयर खरिद दरखास्त फाराम लिन २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ।
वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखाबाट सी–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। साथै सिडिएस एण्ड क्लियरिङ लिमिटेडको ‘मेरो सेयर’ सफ्टवेयरमार्फत अनलाइन आवेदन पनि दिन सकिनेछ।




