काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले आजदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सुरु गरेको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट २० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २० लाख कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको छ।
सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये जारी पुँजीको १० प्रतिशत अर्थात् १५ करोड ५० लाख रुपैयाँ बराबरको १५ लाख ५० हजार कित्ता सेयर आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि छुट्याइएको छ। यसमध्ये ४० प्रतिशत अर्थात् ६ लाख २० हजार कित्ता लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिका वडा नं. २ र ३ का स्थानीय बासिन्दाका लागि तथा बाँकी ६० प्रतिशत अर्थात् ९ लाख ३० हजार कित्ता वडा नं. १, ४, ५, ६, ७, ८ र ९ का स्थानीय बासिन्दाका लागि जारी गरिएको छ।
त्यसैगरी, जारी पुँजीको १० प्रतिशत अर्थात् १५ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ५५ हजार कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि निष्कासन गरिएको छ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आईपीओ निष्कासन छिटोमा माघ ६ गते र ढिलोमा माघ २१ गतेसम्म खुला रहनेछ। वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि भने आईपीओ छिटोमा पुस २५ गते र ढिलोमा माघ ६ गतेसम्म खुला रहनेछ।
आयोजना प्रभावित स्थानीय बासिन्दाले प्रभु बैंक, ग्लोबल आइएमई बैंक, कृषि विकास बैंक र प्राइम कमर्सियल बैंकको बेसीशहर शाखा तथा हिमालयन बैंकको भुलभुले शाखाबाट आवेदन दिन सक्नेछन्।
यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका तोकिएका शाखा कार्यालय तथा ‘मेरो सेयर’ अनलाइन प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी ग्लोबल आइएमई क्यापिटलले पाएको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गरेपछि कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने जनाएको छ।




