काठमाण्डौ । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्कासनका लागि महत्वपूर्ण प्रस्ताव पारित गर्न वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकले यही मंसिर २९ गते काठमाडौँको मिनभवनस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सभा सुरु गर्ने निर्णय गरेको हो।
सभामा कम्पनीले आफ्नो चुक्तापूँजीको २० प्रतिशत आईपीओ जारी गर्ने कामसम्बन्धी हालसम्म भएका प्रक्रिया अनुमोदन गर्नेछ। साथै आगामी दिनमा आवश्यक अन्य प्रक्रिया पूरा गर्ने निर्णय पनि सभाबाट पारित गरिनेछ।
यस्तै, सभामा कम्पनीको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन तथा सम्पूर्ण वित्तीय विवरणहरूलाई छलफल गरी पारित गरिनेछ।
कम्पनीले यसअघि नै लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ।
शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रालि र जय गणेश इन्भेष्टमेन्ट प्रालि एक आपसमा गाभिएर गठन गरिएको लगानी कम्पनी हो। कम्पनीले मुख्यतया जलविद्युत, पूर्वाधार तथा उत्पादनशील क्षेत्रमा लगानी गर्दै आएको छ।
हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट), बुङ्गल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन एनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) मा लगानी गरेको छ। तीमध्ये पहिलो तीन परियोजनाहरू सञ्चालनमा आईसकेका छन् भने प्राथमिक सेयर जारी गर्ने प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भइसकेका छन्।
कम्पनीले आयोजना गरेको साधारण सभाले आईपीओ प्रक्रिया औपचारिकरूपमा अगाडि बढाउने अपेक्षा गरिएको छ।




