काठमाडौं । सेयर बजारका लगानीकर्ता दिपेन्द्र अग्रवालको संयोजकत्वमा सुरु हुन लागेको ‘हिँड काठमाडौं’ संघर्ष अभियानका तयारी तीव्र बनेका छन् । लगातार घट्दो बजार र नीतिगत सुधारको अभावप्रति असन्तुष्टि जनाउँदै अग्रवाल नेतृत्वको समूहले नेपाल धितोपत्र बोर्ड (सेबोन) समक्ष १८ बुँदे माग प्रस्तुत गरिसकेको छ ।
अग्रवालले तिहारपछि आन्दोलनको चरण सुरु हुने चेतावनी दिएका छन् । उनका अनुसार, बोर्डले माग सम्बोधन नगरे कात्तिक १४ गतेदेखि जुलुस, धर्ना र रिले अनसनसहितको विरोध कार्यक्रम सुरु गरिनेछ ।
“हामीले सेबोनमा हाम्रा मागहरू स्पष्ट रूपमा बुझाएका छौं,” अग्रवालले भने, “तर अझै पनि सुनुवाइ नभए हामी चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गर्नेछौं।” उनका अनुसार ‘हिँड काठमाडौं’ अभियानको उद्देश्य सेयर बजार सुदृढीकरण, विस्तार र दीर्घकालीन सुधार हो ।
📜 १८ बुँदे मागपत्रका मुख्य बुँदा
‘हिँड काठमाडौं’ अभियानले तिहारअघि नै धितोपत्र बोर्डमा १८ बुँदे मागपत्र बुझाइसकेको छ । बोर्डले कात्तिक महिनाभित्र माग सम्बोधन गर्ने आश्वासन दिएको बताइए पनि लगानीकर्ताहरूले ठोस कदम नचालिएको आरोप लगाएका छन् ।
मुख्य मागहरू यस प्रकार छन्ः
- सेबोनका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले सुधार गर्न असमर्थ भए राजीनामा दिनु पर्ने।
- एनआरएनलाई दोस्रो बजारमा फ्री इन्ट्री र फ्री एक्जिटको अधिकार।
- सेयर बिक्रीपछि भुक्तानी ढिलाइ भए ब्रोकरबाट ब्याज असुल गर्ने व्यवस्था।
- बैंकलाई कुल कर्जाको २०% सम्म शेयर धितो कर्जा प्रवाह गर्न दिने।
- ब्रोकर कमिसनमा ५०% कटौती र अन्य शुल्क निःशुल्क बनाउने।
- पूँजीगत लाभकर अल्पकालीन लगानीमा ५% र दीर्घकालीन लगानीमा ०% कायम गर्ने।
- म्युचुअल फण्डको ५% आईपीओ आरक्षण हटाएर विद्यार्थीलाई दिने।
- बैंक तथा वित्तीय संस्थाले खरिद गरेको सेयर ६ महिनासम्म बिक्री गर्न नपाउने प्रतिबन्ध हटाउने।
- कर्जामा रहेका कम्पनीका प्रमोटर सेयरलाई पब्लिक सेयरमा रूपान्तरण गर्न नपाउने।
- नेप्से ३० इण्डेक्समा आधारित नयाँ लगानी उपकरण प्रवर्धन गर्ने।
- बुक भ्यालु १०० भन्दा कम भएका कम्पनीको आईपीओ निष्कासन रोक्ने।
- ब्रोकरमार्फत शेयर मार्जिन कर्जा तत्काल सुचारु गर्ने।
- इन्ट्रा डे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ मार्केट सुरु गर्ने।
- शेयर खरिदबिक्रीमा रियल टाइम सेटलमेण्ट ल्याउने।
- तीन वर्षभित्र नयाँ ब्रोकर लाइसेन्स थप्ने।
- सेबोन र नेप्सेको सञ्चालक समितिमा लगानीकर्ताको अनिवार्य प्रतिनिधित्व।
- आईपीओ स्वीकृतिमा हुने भ्रष्टाचार अन्त्य गरी पारदर्शी प्रक्रिया अपनाउने।
आन्दोलनका तयारी र चेतावनी
अग्रवालका अनुसार, माग सम्बोधन नभए “हिँड काठमाडौं” अभियानले चरणबद्ध आन्दोलन गर्ने तयारी गरेको छ । “हामी वार्ताको बाटो बन्द गरेका छैनौं,” उनले भने, “तर लगानीकर्ताको आवाज सुन्ने प्रयास नगर्ने हो भने हामी सडकमा पुग्न बाध्य हुनेछौं।”
लगातार ओरालो लागेको बजारमा सुधारका लागि लगानीकर्ताहरूले नीतिगत हस्तक्षेप, पारदर्शिता र लगानीमैत्री वातावरणको माग गर्दै आएका छन् ।




