अन्तर्राष्ट्रिय बजारमा आज पुनः सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। आज सुनको मूल्य १.६७ प्रतिशत अर्थात् ६७ अमेरिकी डलरले बढ्दै प्रतिऔंस ४ हजार ११६ डलरमा कारोबार भइरहेको छ। लगातार दुई सेसनसम्म घटेको मूल्य आज पुनः उकालो लागेको हो।
गत सोमबार सुनको मूल्य प्रतिऔंस ४ हजार ३८१ डलरसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर मानिन्छ। तर त्यसपछि सुनमा आएको तीव्र गिरावट पछिल्लो पाँच वर्षकै सबैभन्दा ठूलो गिरावटका रूपमा दर्ज भएको थियो।
विश्लेषकहरूका अनुसार यो वर्षका सम्पूर्ण आधारभूत तत्वहरूले सुनको मूल्य वृद्धि गर्न सहयोग पुर्याएका छन्। मूल्य घटेको बेला लगानीकर्ताहरूले अवसरको रूपमा खरिद बढाउनुका साथै विश्वभरिको भू–राजनीतिक तनावले पनि सुनलाई थप समर्थन गरेको बताइन्छ।
यस वर्ष हालसम्म सुनको मूल्य कुल ५७ प्रतिशतले बढिसकेको छ, जसले लगानीकर्तामा पुनः आकर्षण बढाएको देखिन्छ।
यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी ०.५४ डलरले बढ्दै प्रतिऔंस ४८.६३ डलरमा कारोबार भइरहेको छ।
🔸 स्रोत: अन्तर्राष्ट्रिय धातु बजार विश्लेषकहरू




