झापा । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा मेची भन्सार कार्यालयबाट १२ अर्ब २८ करोड ३० लाख रुपैयाँ बराबरका मालवस्तु आयात भएका छन्।
यो रकम अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १ अर्ब ४४ करोड २७ लाख रुपैयाँ (१३.३१ प्रतिशत) ले बढी हो।
गत आव २०८१/८२ को पहिलो त्रैमासमा काँकडभिट्टा नाकाबाट १० अर्ब ८४ करोड ३ लाख रुपैयाँ बराबरका वस्तु आयात भएका थिए।
यस अवधिमा निर्यात भने घटेको छ। समीक्षा अवधिमा मेची नाकाबाट ४ अर्ब ८० करोड ३९ लाख रुपैयाँ बराबरका सामान निर्यात भएका छन्, जुन अघिल्लो आवको सोही अवधिको ६ अर्ब ८ करोड ६९ लाख रुपैयाँ भन्दा २१.०८ प्रतिशतले कम हो।
राजस्व संकलनका दृष्टिले भने यो कार्यालयले राम्रो प्रदर्शन गरेको छ।
पहिलो तीन महिनामा कार्यालयले ४ अर्ब १५ करोड २० लाख ८ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १५.६९ प्रतिशतले बढी हो।




