हिमालयन डिष्टिलरी लिमिटेडले लगानीकर्ताका लागि आकर्षक लाभांश घोषणा गरेको छ। असोज ३० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को नाफाबाट सेयरधनीलाई कुल २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
बैठकका अनुसार कम्पनीले सेयरधनीहरूलाई चुक्तापूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (करसहित) प्रदान गर्ने प्रस्ताव गरेको छ।
कम्पनीद्वारा प्रस्तावित लाभांश पारित गर्नका लागि साधारण सभा आगामी कात्तिक ३० गते बिहान १० बजे कम्पनीको विरगञ्जस्थित रजिष्टर्ड कार्यालयमा आयोजना हुने भएको छ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार, कात्तिक १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।
हिमालयन डिष्टिलरी नेपालको अग्रणी मदिरा उत्पादक कम्पनी हो, जसले पछिल्ला वर्षहरूमा लगातार राम्रो मुनाफा कमाउँदै लगानीकर्तालाई आकर्षक प्रतिफल दिँदै आएको छ।