काठमाडौं । तरल राजनीतिक अवस्था, आन्दोलनका नाममा निजी क्षेत्रमाथि भइरहेका आक्रमण र यसले उत्पन्न गरेको मनोवैज्ञानिक दबाबका कारण निरन्तर ओरालो लागेको सेयर बजारमा असन्तुष्ट लगानीकर्ताले आइतबार साँझ धितोपत्र बोर्ड नै कब्जा गरेका छन् ।
लगानीकर्ताको कमजोर मनोबल र लगातारको बजार गिरावटपछि खुमलटारस्थित नेपाल धितोपत्र बोर्ड (सेबोन) आइतबार साँझ करिब ७ घण्टा लगानीकर्ताको नियन्त्रणमा रह्यो । कारोबार समय सकिएलगत्तै आक्रोशित लगानीकर्ताको समूह बोर्डमा पुगेर बैठक बसिरहेका अध्यक्ष सन्तोषनारायण श्रेष्ठ र सञ्चालक सदस्यहरुलाई राति १० बजेसम्म कार्यालयमै रोकेर राखेको थियो ।
१५ वटा मागसहित आन्दोलन
सुरुमा पूँजीबजार सुधार कार्यदलको प्रतिवेदन कार्यान्वयनमा ढिलाइ भएको भन्दै असन्तुष्टि व्यक्त गरेका लगानीकर्ताले पछि नयाँ १५ वटा माग प्रस्तुत गरे । उनीहरूले ती माग तत्काल पूरा नभएसम्म घर नफर्कने घोषणा गर्दै बोर्डको मूलगेटमा नै तालाबन्दी गरे ।
बोर्ड अध्यक्ष र लगानीकर्ताबीच पटक–पटक वादविवाद र चर्काचर्की चलेको थियो । बोर्डले सुधार कार्यान्वयनका लागि निर्णय गरिसकेको र क्रमशः जायज माग सम्बोधन गर्ने प्रतिबद्धता जनाए पनि लगानीकर्ताले तत्कालै लिखित सहमति मागे ।
रातभरको तनावपूर्ण अवस्था
रात गहिरिँदै जाँदा बोर्ड परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरियो । केही लगानीकर्ता अराजक हुन थालेपछि लगानीकर्ता तिलक कोइराला, दीपेन्द्र अग्रवाल र सुशील लुनियाले सहजीकरण गर्दै वार्ता प्रक्रिया अघि बढाए ।
बोर्डले पूँजीबजार सुधार कार्यदलका सिफारिस शीघ्र कार्यान्वयन गर्ने र बाँकी जायज माग क्रमशः सम्बोधन गर्ने लिखित वक्तव्य जारी गरेपछि अवस्था केही सहज भएको थियो । तर, केही लगानीकर्ताले ‘उधारो सहमति मान्य छैन’ भन्दै वक्तव्यका प्रतिहरु च्यातेर नाराबाजी जारी राखे ।
राति प्रहरीद्वारा उद्धार
लगानीकर्ताहरूको दबाबका बीच बोर्डका अध्यक्ष श्रेष्ठ र सञ्चालकहरूलाई अन्ततः प्रहरीले उद्धार गरेर घर पुर्यायो । त्यसअघि लगानीकर्ता अग्रवालले तिहारसम्मको समयसीमा दिएर तत्कालका लागि आन्दोलन स्थगित गर्न प्रस्ताव गरेका थिए, जसलाई धेरैले प्रारम्भमा विरोध गरे पनि अन्ततः सहमति बन्यो ।
पृष्ठभूमि
अर्थमन्त्रीद्वारा गठन गरिएको पूँजीबजार सुधार कार्यदलले लगानीकर्ताको मनोबल पुनःस्थापित गर्न ठोस सिफारिसहरू दिएको भए पनि तिनको कार्यान्वयन ढिलाइ हुँदै आएको थियो । बजारमा लगातार गिरावट र ‘प्यानिक सेल’ का कारण आइतबार नेप्से सूचक उच्च अंकले घटेको थियो ।
यस घटनाले लगानीकर्ताको आक्रोश चरममा पुगेको र पूँजीबजार सुधारका लागि सरकार र नियामक संस्थाले तत्काल कदम चाल्नुपर्ने सन्देश दिएको छ ।