पूँजीबजारको फ्रन्टलाइन रेगुलेटर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भित्र आन्तरिक विवादले ठूली उथलपुथल ल्याएको छ। बोनस विवादलाई लिएर सुरु भएको कर्मचारी आन्दोलनले हिजो मंगलबार दिनभर तनावपूर्ण स्थिति बनाएको थियो।
अध्यक्ष र सीईओ थुनिएका
नेप्सेका अध्यक्ष हेमन्त बस्याल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) चूडामणि चापागाईंलाई कर्मचारीहरूले बिहान ११ बजेदेखि राति १२ बजेसम्म कार्यकक्षमै थुनेका थिए। कर्मचारीहरूले बोनससम्बन्धी आफ्ना माग सम्बोधन नभएसम्म तालाबन्दी गर्ने अडान लिएका थिए।
नेप्सेका ४५ कर्मचारीमध्ये करारसहित सबै आन्दोलनमा उत्रिएका थिए। उनीहरूले आफूहरूको बोनस अधिकार रोकिएको भन्दै आक्रोश प्रकट गरेका हुन्।
बोनस ऐनअनुसार ५ प्रतिशत माग
कर्मचारीहरूले बोनस ऐनअनुसार कम्पनीको वार्षिक नाफाको ५ प्रतिशत बोनस पाउनुपर्ने दाबी गर्दै आएका छन्। नेप्सेले पछिल्ला वर्षमा १ अर्बभन्दा बढी नाफा कमाइरहेको हुँदा कर्मचारीलाई ठूलो रकम बोनस स्वरूप प्राप्त हुने अवस्था देखिन्छ। अनुमानअनुसार, सामान्य कर्मचारीले पनि एकमुष्ट १० लाख रुपैयाँभन्दा बढी बोनस पाउने सम्भावना छ।
तर सञ्चालक समितिले सो माग कार्यान्वयन गर्न सकिने अवस्था नरहेको बताउँदै आएको छ। समितिका एक सदस्यका अनुसार, अदालतको आदेशअनुसार बोनस दिन खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न सक्ने सम्भावना भएकाले जोखिमपूर्ण देखिएको हो।
अदालतको फैसला, तर सर्वोच्च पुग्यो विवाद
श्रम अदालतले कर्मचारीको पक्षमा फैसला गरिसकेको अवस्थामा अध्यक्ष बस्यालको सल्लाहअनुसार सञ्चालक समितिले सर्वोच्चमा जाने निर्णय गरेपछि विवाद चर्किएको हो। कर्मचारीहरूले यसलाई षड्यन्त्र भन्दै आन्दोलनलाई तीव्र बनाएका छन्।
प्रहरी परिचालन र मध्यरातसम्म सहमति
अध्यक्ष र सीईओले सुरक्षाको माग गर्दै प्रशासनलाई खबर गरेपछि प्रहरी टोली नेप्से पुगेको थियो। त्यसपछि मध्यरातमा पुनः छलफल गरी मौखिक सहमति भएपछि मात्रै ताला खोलिएको हो। तर कर्मचारीले लिखित सहमति नभएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।
लगानीकर्तामाथि असर?
देश आर्थिक संकटमा परेको बेला लगानीकर्ताले तिरेको कर तथा शुल्कबाट नाफा कमाइरहेको संस्थाले ठूलो बोनस बाँड्नु उपयुक्त नहुने धारणा सञ्चालक समितिको छ। तर कर्मचारी भने आफ्नो कानूनी अधिकार छोड्न तयार छैनन्।
आज पनि नेप्सेमा तालाबन्दी र प्रदर्शन हुने कार्यक्रम तय गरिएको छ, जसले पूँजीबजारमा थप अस्थिरता ल्याउने देखिन्छ।