नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्नुपर्ने सुझाव दिएका छन्।
संविधान दिवसको अवसरमा माओवादी केन्द्रको पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले हालको संविधानलाई संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली ल्याउन सकिने बताएका हुन्।
प्रचण्डले भने,
“२०७२ सालमा संविधान निर्माणको क्रममा माओवादीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति–कार्यकारीको व्यवस्था गर्नुपर्ने माग राखेको थियो। अहिले जेनजी आन्दोलनले त्यही मागलाई पुष्टि गरेको छ। त्यतिबेला उक्त व्यवस्था स्वीकृत भएको भए आज यति ठूलो क्षति व्यहोर्नु पर्ने अवस्था आउने थिएन।”
उनले राजनीतिक स्थायित्व र दीर्घकालीन समाधानका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी नै उपयुक्त भएको भन्दै पार्टी कार्यकर्तालाई उक्त दिशामा अघि बढ्न आग्रह गरे।
यस्तै, उनले जेनजी पुस्ताले अघि सारेका मागहरू पूरा गर्न सक्षम पार्टी माओवादी केन्द्र नै रहेको दाबी गर्दै, सबै सदस्यलाई जनतासँग घुलमिल भएर परिवर्तनका आकांक्षालाई संस्थागत गर्न आव्हान गरे।