लामो समयदेखि बन्द रहेको सेयर बजार अब पुनः सञ्चालनमा आउने भएको छ। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मंगलबार बिहान बसेको सञ्चालक समितिको बैठकबाट असोज २ गतेदेखि सेयर कारोबार सुचारु गर्ने निर्णय गरेको छ।
सेयर बजार जेनजी आन्दोलनका कारण अस्थायी रूपमा बन्द गरिएको थियो। तर, नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से)ले असोज १ गतेबाट कारोबार सुरु गर्न अनुमति माग्दै सोमबार सेबोनमा पत्र पठाएको थियो। सोही आवेदनको आधारमा सेबोनले बजार खोल्ने निर्णय लिएको हो।
धितोपत्र बोर्ड निकट स्रोतका अनुसार, सार्वजनिक विदा परेको कारण असोज १ गते कारोबार नहुने भए पनि असोज २ गतेबाट सेयर कारोबार नियमित रुपमा साबिककै समय अनुसार सञ्चालन हुनेछ।
बोर्डले आंशिक कारोबार, सर्किट ब्रेकरको परिवर्तन जस्ता सुरक्षात्मक उपायसहित बजार खोल्ने तयारी गरे पनि नेप्से त्यसमा सहमत नहुँदा, अन्ततः साबिककै व्यवस्था अनुसार पूरै समय बजार सञ्चालनमा ल्याउने निर्णय भएको हो।
यससँगै लामो समयदेखि पर्खाइमा रहेका लगानीकर्ताले पुनः कारोबार गर्न पाउने भएका छन्।