काठमाडौंको जंगीअड्डा वरपर युवाहरुले सुशीला कार्कीलाई अन्तरिम सरकार प्रमुख बनाउने तयारीविरुद्ध नाराबाजी सुरु गरेका छन्। उनीहरुले कुलमान घिसिङ, महावीर पुन, सागर ढकालजस्ता स्वतन्त्र व्यक्तिलाई सरकारको नेतृत्व दिनुपर्ने मागसहित प्रदर्शन गरिरहेका छन्।
सेनाको चेतावनी
सेनाले केहीबेर अघिदेखि निरन्तर माइकिङ गर्दै जंगीअड्डा वरपर भीडभाड नगर्न आग्रह गर्दै आएको छ। प्रदर्शनकारीहरुलाई हटाउने प्रयास भइरहेको भए पनि युवाहरु भने धरहरा, रत्नपार्क लगायत क्षेत्रमा समूह–समूहमा भेला भएर आन्दोलनलाई निरन्तरता दिइरहेका छन्।
भारतीय मिडियाविरुद्ध आक्रोश
प्रदर्शनकारीहरुले भारतीय मिडियालाई जंगीअड्डाभित्र प्रवेश दिइएको तर नेपाली मिडियालाई रोकिएको भन्दै कडा आपत्ति जनाएका छन्। उनीहरुले “गो ब्याक इण्डिया” जस्ता नारा घन्काएका छन्।
नेपाली मिडियामाथि रोक
माइतीघर क्षेत्र पुगेका नेपाली मिडियालाई सेनाले त्यहीँबाट फर्काइदिएको छ। संवाददाताका अनुसार सेनाले माइतीघरबाट अगाडि बढ्न प्रतिबन्ध लगाएको छ।
परिस्थितिले काठमाडौं उपत्यकामा आन्दोलन अझ चर्किँदै गएको संकेत देखाएको छ।