काठमाडौं । राष्ट्रिय शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले नेपाली सेनाले आजदेखि देशभर निषेधाज्ञा (कर्फ्यू) लागू गरेको छ। सेनाले जनाएको अनुसार कर्फ्यू आज साँझ ५ बजेसम्म जारी रहनेछ भने त्यसपछिसमेत निरन्तरता दिइँदै भोलि बिहान ६ बजेसम्म लागू हुनेछ।
सेनाले दिएको सूचनाअनुसार हालको आन्दोलनको आवरणमा केही अराजक समूहहरूले व्यक्तिगत तथा सार्वजनिक सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाटजस्ता अपराधजन्य गतिविधि बढाएका छन्। साथै, हिंसात्मक आक्रमण र बलात्कार प्रयासजस्ता गम्भीर अपराध हुने जोखिम रहेको चेतावनी दिइएको छ।
यसै कारण, यस्ता घटनाहरू रोक्न सबै नागरिकलाई सहयोग गर्न सेनाले अनुरोध गरेको छ। आन्दोलनको नाममा हुने कुनै पनि हिंसात्मक प्रदर्शन, तोडफोड, लुटपाट वा सम्पत्तिमाथि आक्रमणलाई गम्भीर अपराधका रूपमा लिने र दोषीमाथि कडा कारबाही गर्ने चेतावनी पनि सेनाले दिएको छ।
कर्फ्यू अवधिमा अत्यावश्यक सेवासम्बन्धी सवारी साधनहरू—जस्तै एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका गाडीहरू भने सामान्य रूपमा सञ्चालन हुने व्यवस्था मिलाइएको छ। आवश्यक परेको अवस्थामा नजिकैका सुरक्षाकर्मीहरूसँग सम्पर्क गर्न पनि सेनाले आग्रह गरेको छ।
साथै, सेनाले अवकाशप्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी र आम नागरिकलाई अफवाहमा नपरी केवल आधिकारिक सूचनामा मात्र विश्वास गर्न आह्वान गरेको छ।
नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्दै जनजीवनलाई सामान्य बनाउन आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।

