महोत्तरी, रामनगरका लालु प्रसाद यादव हाम्रो लागि केवल साथी मात्र होइनन्, एक प्रेरणाको स्रोत पनि हुन्। उनका जीवनका पाना पढ्दा वा सम्झिँदा हामीलाई सधैं आँखा रसाउँछ, किनकि उनले सानैदेखि भोगेका कठिनाइहरू हामीले नजिकैबाट देखेका छौं।
सानैमा बाले अर्को विवाह गरेपछि, लालु आमा संग मात्र बस्नुपर्यो। बाल्यकालमै पैसाको अभावले उनलाई कठोर जीवनयात्रा भोग्न बाध्य बनायो। कहिलेकाहीँ भोकै बस्ने, लुगा किन्न नसक्ने, किताब किन्ने सामर्थ्य नभएर अरूको पुराना किताब पढ्ने जस्ता पीडा हामीले आफ्नै आँखाले देखेका छौं।
जीवन चलाउन उनले आमासँगै विद्यालयमा कार्यालय सहयोगीको रूपमा काम गरे। पैसाको खोजीमा कम उमेरमै भारतसमेत पुगे। तर पढ्ने तीव्र चाहनाले उनलाई १२ वर्षको उमेरमै नेपाल फर्कायो। आमाले काम गर्ने विद्यालयमै “पाले दाइ” बनेर पढाइ सुरु गरेको क्षणदेखि नै उनले जिन्दगीसँगको ठूलो लडाइँ सुरु गरे।
कक्षा फड्काउँदै कक्षा १० मा पुगे र SLC मा Distinction ल्याए। त्यो दिनको खुशी हामी आज पनि बिर्सन सक्दैनौं। त्यसपछि पनि उनले ११ र १२ उत्कृष्ट नतिजासहित पास गरे।
तर जिन्दगी सजिलो कहिल्यै थिएन। हामीले आफ्नै आँखाले देखेका छौं—लालुले कसरी बालुवा बोक्थे, अरूको गोरु–गाई चराउँथे, खेतबारीमा काम गर्थे, अनि बेलुकी थाकेका हातले पनि किताब समाउँथे। भोकै पेटले किताब पढ्दा आँखा झिम्किन्थे, तर उनको जिद्दाले हार मान्न दिंदैनथ्यो।
कक्षा १२ पछि उनले काठमाडौं आएर त्रिचन्द्र क्याम्पसमा भर्ना भए। त्यहाँ पनि उनी सधैं उत्कृष्ट बने—Distinction सहित स्नातक पास गरे। र अहिले, हाम्रो गौरव—उनी त्रिभुवन विश्वविद्यालय, सेन्ट्रल डिपार्टमेन्ट अफ फिजिक्सबाट मास्टर्स पास गरिसकेका छन्। पहिलो सेमेस्टरमा 3.89 GPA, अनि दोस्रो, तेस्रो र चौथो सेमेस्टरमा लगातार 4.0 GPA ल्याएर उनले असम्भवजस्तै लाग्ने उपलब्धि हासिल गरे।
यो जीवनी म, बसन्त गिरी, ले लेखेको हुँ। हामी बॅचलरदेखि नै सँगै पढ्दै आएका साथी हौं, संघर्षका धेरै पाना म प्रत्यक्ष देख्ने साक्षी बनेको छु। लालुको जिन्दगीमा दुःख, आँसु र संघर्ष धेरै देखेँ, तर साथसाथै अपार धैर्य, अटुट मेहनत र असाधारण क्षमतासमेत देखेँ।
हामीलाई लालुको जीवनले यही सन्देश दिएको छ— “अभावले बाटो रोके पनि दृढ इच्छाशक्ति र संघर्षले असम्भवलाई सम्भव बनाउन सक्छ।” – लेखक: बसन्त गिरी