हातवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले आफ्नो १७औं वार्षिक साधारण सभा आह्वान गरेको छ। भदौ ३ गते बसेको सञ्चालक समितिको बैठकले सभा बोलाउने निर्णय गरेको हो।
कम्पनीको वार्षिक साधारण सभा आगामी भदौ २५ गते काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा बिहान १० बजे सुरु हुनेछ। सभामा सञ्चालक समितिले गत आवका लागि प्रस्ताव गरेको १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।
यस्तै, कम्पनीको अधिकृत, जारी र चुक्तापूँजी वृद्धि गर्ने तथा सो सम्बन्धी प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ। नियामक निकायबाट थप संशोधनको निर्देशन आएमा त्यसलाई कार्यान्वयन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने प्रस्ताव समेत रहनेछ।
सभामा अध्यक्षद्वारा प्रस्तुत गरिने वार्षिक प्रतिवेदन पारित गर्नुका साथै २०८२ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरूमाथि छलफल गरी पारित गरिनेछ।
यस्तै, आव २०८२/८३ को बाह्य लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्ती तथा पारिश्रमिक निर्धारण, समूह (क) का सेयरधनीतर्फबाट ४ जना सञ्चालकको निर्वाचन, र स्वतन्त्र सञ्चालक नियुक्तिलाई अनुमोदन गर्ने प्रस्ताव समेत सभामा पेश गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यस अनुसार, भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन्।