बुङ्गल हाइड्रो लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि निष्कासन गरेको आईपीओ आजदेखि बन्द गर्न लागेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि गत असार २९ गतेदेखि आईपीओ निष्कासन थालेको थियो।
यसअन्तर्गत वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको आईपीओ साउन ११ गते नै बन्द भइसकेको छ। कम्पनीले गत असार १५ गते नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासनको अनुमति प्राप्त गरेको हो।
८३ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीले यसको ३५ प्रतिशतबराबरको २९ करोड ५ लाख रुपैयाँ अंकित मूल्यका २९ लाख ५ हजार कित्ता साधारण सेयर निष्कासन गर्ने अनुमति पाएको हो। जसमध्ये ८ लाख ३० हजार ८२४ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्याइएको छ।
आयोजना प्रभावित क्षेत्रका सेयरमध्ये ६५ प्रतिशत अति प्रभावित क्षेत्रमा पर्ने सुदूरपश्चिम प्रदेश, बझाङ्ग जिल्ला, बुङ्गल नगरपालिका–६ (साविक पिपलकोट गाविस वडा नं. ४, ५, ७०) र वडा नं. ७ (साविक कफल्सेरी गाविस वडा नं. १०) का बासिन्दालाई बाँडफाँड गरिनेछ। बाँकी ३५ प्रतिशत सामान्य प्रभावित क्षेत्रका बासिन्दा, अर्थात बझाङ्ग जिल्ला बुङ्गल नगरपालिका–१, २, ३, ४, ५, ८, ९, १० र ११ का वासिन्दाका लागि सुरक्षित गरिएको छ।
सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये १० प्रतिशत अर्थात २ लाख ७ हजार ५०० कित्ता (२ करोड ७ लाख ५० हजार रुपैयाँ बराबर) वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो।
कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता देखि अधिकतम २० हजार कित्ता सम्म आवेदन दिन सकिने व्यवस्था छ। आईपीओको लागि केयर रेटिङ नेपालले कम्पनीलाई ‘CARE-NP Single B Issuer Rating’ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व वहन क्षमतामा औसत जोखिम रहेको जनाउँछ।
कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेड हो। स्थानीय बासिन्दाले नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (केदारस्यू–१), कृषि विकास बैंक (बुङ्गल नगरपालिका), ग्लोबल आइएमई बैंक (जयपृथ्वी नगरपालिका) तथा आयोजनास्थलबाट आवेदन दिन सक्नेछन्। आवेदनका लागि दरखास्त फारम शुल्क २ रुपैयाँ तोकिएको छ।