एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म उल्लेखनीय वित्तीय सुधार गर्दै ४ अर्ब ९५ करोड रुपैयाँभन्दा बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ। यससँगै बैंकको लाभांश क्षमता ३८.२७ प्रतिशत पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रहेको २८.०६ प्रतिशतको तुलनामा २६.६७ प्रतिशतले वृद्धि हो।
१२ अर्ब ९४ करोड रुपैयाँ चुक्तापूँजी भएको बैंकले समीक्षा अवधिमा ४ अर्ब ९१ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ३ अर्ब ७० करोडको तुलनामा ३२.८० प्रतिशतले बढी हो। नाफामा सुधारसँगै प्रतिसेयर आम्दानी (EPS) अघिल्लो वर्षको ३१.४७ रुपैयाँबाट बढेर ३७.९९ रुपैयाँ पुगेको छ।
सञ्चालन मुनाफा अघिल्लो वर्षको ५ अर्ब ६६ करोड रुपैयाँबाट बढेर ७ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी ७ अर्ब ६४ करोड रुपैयाँबाट वृद्धि भई ९ अर्ब १२ करोड रुपैयाँभन्दा बढी भएको छ। बैंकले निस्क्रिय कर्जा अनुपात ०.७१ प्रतिशतबाट घटाएर ०.३८ प्रतिशतमा झारेको छ।
रिटर्न अन इक्विटी (ROE) अघिल्लो वर्षको १३.९३ प्रतिशतबाट बढेर १६.४४ प्रतिशत पुगेको छ भने प्रतिसेयर नेटवर्थ २३६.२८ रुपैयाँबाट वृद्धि भई २४७.३९ रुपैयाँमा पुगेको छ।
समीक्षा अवधिसम्म बैंकको कुल निक्षेप २ खर्ब ९८ अर्ब ८१ करोड रुपैयाँ र कुल कर्जा प्रवाह २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप २ खर्ब ३२ अर्ब ३१ करोड र कर्जा १ खर्ब ७८ अर्ब २१ करोड रुपैयाँ मात्र थियो।
बैंकको कस्ट अफ फण्ड ५.६४ प्रतिशतबाट घटेर ३.८७ प्रतिशतमा आएको छ भने आधार दर ८.१३ प्रतिशतबाट घटेर ५.२७ प्रतिशतमा पुगेको छ। हाल बैंकको तरलता अनुपात ३८.९४ प्रतिशत, सम्पत्तिमा प्रतिफल (ROA) १.४९ प्रतिशत र मूल्य–आम्दानी अनुपात (P/E) १८.४७ गुणा रहेको छ।