काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासनको प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ। कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकले १६औं वार्षिक साधारण सभा आगामी भदौ १५ गते डाक्ने निर्णय गरेको हो।
सभास्थल ललितपुरस्थित आँगन भेन्यू एण्ड रेष्टुरेन्टमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभामा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पेस गरिनेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सोही अनुसार आवश्यक कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पनि पेश गरिनेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षित वित्तीय विवरणहरू र लेखापरीक्षकको प्रतिवेदन पारित गर्ने लगायतका नियमित एजेण्डाहरू पनि समावेश गरिएका छन्।
कम्पनीले आईपीओ जारी गर्दै सर्वसाधारणलाई समावेश गर्ने प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको छ। यसका लागि साधारण सभाबाट आवश्यक स्वीकृति लिने चरणमा कम्पनी पुगेको हो।