माछापुच्छ्रे बैंक लिमिटेडले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकको वित्तीय प्रदर्शनमा उल्लेखनीय सुधार देखिएको छ। समीक्षावधिमा बैंकले २ अर्ब १ करोड १४ लाख रुपैयाँ बराबरको खुद नाफा आर्जन गर्न सफल भएको छ, जुन अघिल्लो आवको सोही अवधिको नाफा (१ अर्ब ४ करोड ५१ लाख रुपैयाँ) को तुलनामा ९२.४५ प्रतिशतले वृद्धि भएको हो।
बैंकको खुद ब्याज आम्दानी पनि उल्लेखनीय रूपमा १५.४० प्रतिशतले वृद्धि भई ५ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ पुगेको छ। यसैगरी, बैंकको कुल सञ्चालन आम्दानी ७ अर्ब ८ करोड रुपैयाँ र सञ्चालन मुनाफा ३ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। अघिल्लो आवमा ३५ करोड ९८ लाख रुपैयाँले ऋणात्मक रहेको रिटेन्ड अर्निङ यो त्रैमाससम्ममा १ अर्ब ७ करोड रुपैयाँले धनात्मक बनेको छ। बैंकको रिजर्भ पनि ५ अर्ब ८२ करोड रुपैयाँबाट बढेर ६ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ।
बैंकले हालसम्म १ खर्ब ८४ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ भने १ खर्ब ४१ अर्ब रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ। बैंकको खराब कर्जा अनुपात (NPL) ३.८३ प्रतिशत कायम रहेको छ।
प्रति सेयर आम्दानी (EPS) अघिल्लो वर्षको ८.९९ रुपैयाँबाट बढेर १७.३१ रुपैयाँ पुगेको छ भने प्रति सेयर नेटवर्थ १६३.८ रुपैयाँ रहेको छ। बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७ करोड रुपैयाँ पुगेको छ। त्यस्तै, तरलता अनुपात ३१.१८ प्रतिशत र कुल सम्पत्तिमा प्रतिफल (ROA) ०.९९ प्रतिशत रहेको छ।
बैंकको यस सुधारिएको वित्तीय अवस्थाले लगानीकर्ताहरूमा थप भरोसा जगाएको छ र आगामी दिनमा आकर्षक लाभांश वितरणको सम्भावना बलियो देखिएको छ।