काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म १७.३० प्रतिशत लाभांश क्षमता कायम गर्दै नाफामा सुधार गरेको छ। बैंकले शुक्रबार चौथो त्रैमासको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गर्दै यो तथ्यांक प्रस्तुत गरेको हो।
बैंकको चुक्तापूँजी ३ अर्ब ५१ करोड रुपैयाँ छ भने समीक्षा अवधिमा ६० करोड ७४ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। गत वर्षको यही अवधिमा बैंकको वितरणयोग्य मुनाफा ४१ करोड १२ लाख रुपैयाँ र लाभांश क्षमता १२.५३ प्रतिशत थियो।
समीक्षा अवधिमा बैंकको खूद नाफा ६३ करोड ५२ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको ५८ करोड १८ लाख रुपैयाँभन्दा बढी हो। सञ्चालन नाफा पनि ९६ करोड ७८ लाखबाट बढेर ९८ करोड ६९ लाख रुपैयाँ पुगेको छ।
ब्याज आम्दानी र कर्जा प्रवाहमा वृद्धि
अघिल्लो वर्ष २ अर्ब १३ करोड रुपैयाँ रहेको खूद ब्याज आम्दानी बढेर २ अर्ब २४ करोड रुपैयाँ माथि पुगेको छ। ब्याजदर घटेको समयमा पनि खूद ब्याज आम्दानी वृद्धि हुनु बैंकको व्यवसाय विस्तारको संकेत हो।
समीक्षा अवधिमा बैंकले ६२ अर्ब ८३ करोड रुपैयाँ निक्षेप संकलन गरी ४९ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष यो क्रमशः ५९ अर्ब ६ करोड र ४५ अर्ब ९७ करोड रुपैयाँ थियो।
जोखिम व्यवस्थापन र अन्य वित्तीय सूचक
कर्जा तथा सम्भावित जोखिम व्यवस्थापनका लागि बैंकले ४१ करोड ७४ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्याएको छ, जुन अघिल्लो वर्षको ३५ करोड ८२ लाखभन्दा बढी हो।
प्रति सेयर आम्दानी (EPS) १८ रुपैयाँ १० पैसा पुगेको छ (अघिल्लो वर्ष १७ रुपैयाँ ७३ पैसा) भने रिटर्न अन इक्वीटी (ROE) ११.२६ प्रतिशतमा सीमित छ (अघिल्लो वर्ष ११.५० प्रतिशत)।
नेट एनपीएल अघिल्लो वर्षको ०.९१ प्रतिशतबाट घटेर ०.१९ प्रतिशत भएको छ।
अन्य मुख्य सूचकांक
- कस्ट अफ फण्ड: ५.०९ प्रतिशतमा सीमित
- आधार दर: ७.०७ प्रतिशत
- प्रति सेयर नेटवर्थ: १६८.१३ रुपैयाँ
- मूल्य आम्दानी अनुपात (P/E): २७.६९ गुणा
- तरलता अनुपात: २४.४९ प्रतिशत
- क्यापिटल एडेक्वेसी रेसियो (CAR): १३.२० प्रतिशत
कामना सेवा विकास बैंकले यस त्रैमासमा नाफा, निक्षेप र कर्जामा देखाएको सुधारका आधारमा आगामी वर्षमा पनि प्रतिस्पर्धात्मक लाभांश वितरणको सम्भावना देखिएको विश्लेषकहरुको भनाइ छ।