काठमाडौं — कर्णाली डेभलपमेन्ट बैंकको बहुचर्चित घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकका तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी लाई पक्राउ गरेको छ। नेपालगञ्जबाट पक्राउ परेका ठकुरीमाथि बैंकको रकम हिनामिना गरेको आरोपमा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।
यो प्रकरणमा ठकुरी पक्राउ पर्ने दोस्रो व्यक्ति हुन्। यसअघि बैंकका संस्थापक अध्यक्ष तथा तत्कालीन सीईओ राजेन्द्रवीर राय लाई पनि प्रहरीले पक्राउ गरिसकेको छ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली डेभलपमेन्ट बैंकमा पूर्वकार्यकारी अध्यक्ष, पूर्व र वर्तमान सीईओ तथा पूर्व वित्त विभाग प्रमुखको मिलेमतोमा बैंकको रकम अपचलन भएको तथ्य सार्वजनिक भएको थियो। सेवाग्रहीहरुको बचत फिर्ता गर्न नसकिएका कारण छानविन गर्न गत पुस ५ गते डा. ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय विशेष छानविन समिति गठन गरिएको थियो। समितिले बैंकका विभिन्न खातामा नक्कली ब्यालेन्स सर्टिफिकेट तयार गरी अपचलन लुकाउने प्रयास भएको पत्ता लगाएको थियो।
अहिलेसम्म करिब २ अर्ब ५० करोड रुपैयाँको हिनामिना भएको भन्दै उजुरी परेको छ र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।