काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमा मौज्दात तरलता व्यवस्थापन गर्न आज (बुधबार) ४० अर्ब रुपैयाँ बराबरको रकम बजारबाट झिक्ने भएको छ।
राष्ट्र बैंकले तरलता व्यवस्थापनको अल्पकालीन उपकरण ‘निक्षेप संकलन (Deposit Collection)’ मार्फत २१ दिनका लागि यो रकम संकलन गर्न लागेको हो। केन्द्रीय बैंकले पछिल्लो समय तरलता बढी भएका कारण नियमित रूपमा आइतबार र बुधबार पैसा संकलन गर्दै आएको छ।
आज दिउँसो ३ बजेपछि अनलाइन बिडिङ सिस्टममार्फत सहभागी संस्थाहरूले बोलकबोल गर्न सक्ने व्यवस्था गरिएको छ।
निक्षेप संकलनमा सहभागी हुन चाहने बैंक तथा वित्तीय संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँ र अधिकतममा ५ करोडको गुणनफल हुने गरी रकम माग गर्न सक्ने छन्। राष्ट्र बैंकले मागअनुसारको रकम विभिन्न संस्थाबाट आह्वान गरी ४० अर्ब बराबरको तरलता अवशोषण गर्ने जनाएको छ।
उक्त निक्षेपको साँवा तथा ब्याज भुक्तानी असार ११ गते हुनेछ।
यस निक्षेप संकलन प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरूले सहभागिता जनाउन सक्नेछन्।
केन्द्रीय बैंकको यो कदमले अल्पकालीन तरलता सन्तुलन कायम राख्ने र मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनमा सघाउने अपेक्षा गरिएको छ।