सत्तारुढ प्रमुख घटक नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका निकट युवा नेता विष्णु रिजालले नेपाल राष्ट्र बैंकको गभर्नर अबको एक साताभित्र नियुक्त हुने दाबी गरेका छन्।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र अर्को सत्तारुढ घटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शनिबार राति बालुवाटारमा भएको भेटवार्ताको प्रसंग उल्लेख गर्दै रिजालले दुवै नेताबीच गभर्नर नियुक्तिको विषयमा सहमति भइसकेको संकेत गरेका हुन्।
“आशा गरौं, प्रक्रियागत जटिलता मिलाएर गभर्नरको नियुक्ति एक सातामै हुनेछ,” रिजालले आफ्नो फेसबुक स्टाटसमार्फत लेखेका छन्।
यसै सन्दर्भमा, नेता रिजालले सरकार परिवर्तनको हल्ला चलाउनेहरूको खेतिपाती बन्द भइसकेको दाबी समेत गरेका छन्। उनले राजनीतिक स्थिरताप्रति सकारात्मक संकेत गर्दै हालको सत्ता संयन्त्र बलियो रहेको बताएका छन्।
नेपाल राष्ट्र बैंकको गभर्नर पद खाली भएपछि नयाँ नियुक्तिको प्रक्रिया राजनीतिक तहमा छलफल हुँदै आएको छ। रिजालको यो अभिव्यक्तिले गभर्नर नियुक्ति प्रक्रिया छिट्टै टुंगिने अपेक्षा बढाएको छ।




