काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा चुडामणि चापागाईं नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
नेप्सेले करिब दुई महिनापछि नेतृत्व पाएको छ। नेप्सेको सीईओ पद गत माघ २५ गतेदेखि रिक्त रहेको थियो। यसअघि नारदकुमार लुइँटेललाई नेप्सेको सीईओमा नियुक्त गरिएको बताइए पनि उनको नियुक्ति मुख्यसचिवबाट प्रमाणित नभएकाले औपचारिक रूपमा लागू हुन सकेको थिएन।
नेप्सेको सीईओ छनोटका लागि गठित सिफारिस समितिले पाँच जनाको नाम सर्टलिस्ट गरेको थियो। सिफारिस सूचीमा चुडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल रहेका थिए। उनीहरुलाई व्यवसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि चैत ६ गते बोलाइएको थियो।
मन्त्रिपरिषद्ले अन्ततः चुडामणि चापागाईंलाई नेप्सेको नेतृत्व सुम्पने निर्णय गरेको हो। अब चापागाईंले नेप्सेको आगामी रणनीति, सुधार र प्रविधि सुदृढीकरणमा ध्यान दिने अपेक्षा गरिएको छ।




