काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको पूँजीगत खर्चका विषयमा विषयगत मन्त्रालयहरूसँग विस्तृत छलफल गरेको छ। अर्थ मन्त्रालयका अनुसार चैत ११ गतेसम्म पूँजीगत खर्च ८७ अर्ब ३३ करोड ४२ लाख रुपैयाँ पुगेको छ।
छलफलका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्चको गति बढाउन सम्बन्धित मन्त्रालयहरूलाई सक्रिय रूपमा लाग्न निर्देशन दिए।
“अर्थ मन्त्रालयले स्रोत व्यवस्थापन र सहजीकरण गर्छ, तर आउनुपर्ने परिणाम र गर्नुपर्ने काम सम्बन्धित मन्त्रालयहरूको हो,” अर्थमन्त्री पौडेलले भने।
अर्थ सचिव घनश्याम उपाध्यायले खर्च क्षमताअनुसार आगामी वर्षको बजेटका लागि योजना तथा कार्यक्रम अघि बढाउन आग्रह गरे। राजस्व सचिव दिनेशकुमार घिमिरेले बजेटको सिलिङ वितरणमा सुधार गर्नुपर्ने बताए।
अर्थ मन्त्रालयले बजेट खर्च गर्न नसक्ने भए समयमा सरेन्डर गर्न निर्देशन दिएको छ। छलफलमा सहभागी सचिवहरूले पूँजीगत खर्च वृद्धिका लागि अन्तर-मन्त्रालय समन्वय, रकमान्तर, भुक्तानी प्रक्रिया तथा नीतिगत स्पष्टता आवश्यक रहेको बताएका छन्।




