प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता कार्यक्रम अघि बढाइएको बताएका छन्। उनले यस वर्ष कम्तीमा ५०० उद्यमीलाई सहुलियतपूर्ण कर्जा प्रवाह गरिने बताएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले सिर्जनशीलता तथा नवप्रवर्तनलाई प्रोत्साहन गर्न स्टार्टअप उद्यमशीलताको विकासमा लगानीकर्ताहरूलाई आकर्षित गर्ने योजना अन्तिम चरणमा पुगेको जानकारी गराए।
उनका अनुसार, इच्छुक प्रस्तावकहरूबाट छनोट प्रक्रिया टुंगिने क्रममा रहेको छ। साथै, स्वदेशमै उत्पादन र उत्पादकत्व विस्तार गर्दै आन्तरिक रोजगारीको दीगो आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको प्रधानमन्त्री ओलीले स्पष्ट पारे।
प्रधानमन्त्री ओलीले हालै सम्पन्न राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको प्रसंग उल्लेख गर्दै विश्वव्यापी रूपमा रोजगारी, व्यवसाय तथा अध्ययनका लागि मानिसहरू विभिन्न देश जाने क्रम स्वाभाविक रहेको बताए। उनले नेपालमा नै रोजगारीका अवसर सिर्जना गर्ने र युवाहरूलाई उद्यमशील बनाउन राज्यले विशेष नीति अवलम्बन गरिरहेको उल्लेख गरे।
सरकारको यो कार्यक्रमले नयाँ उद्यमीहरूलाई प्रोत्साहन गर्दै मुलुकभित्र रोजगारीका अवसर बढाउने अपेक्षा गरिएको छ।
‘देशका युवा बाहिरिए भन्ने कुरालाई पूरै नकारात्मक रुपमा बुझ्नु पनि हुँदैन । व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको छ,’, प्रधानमन्त्री ओलीले भने, ‘हिजो जीवन निर्वाहका लागि सीमित विकल्प थिए, आज त्यो फराकिलो भएको छ । संसारको जुनसुकै कुनामा जान सक्ने छनोटको लाभ हाम्रा युवाहरुले पनि लिएका छन् । यसो भनेर हामी युवाहरुलाई स्वदेशमै उद्यमशीलता र रोजगारीको अवसर सिर्जना गर्ने कुरामा केही कामै नगरी बसेका छैनौं । यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन ।’
मुलुकमा स्वदेशी लगानीलाई प्रोत्साहन गर्दै विदेशी लगानी आकर्षित गर्न, उत्पादन र उत्पादकत्व बढाउँदै रोजगारी सिर्जना गर्न तथा आयात व्यवस्थापन र निर्यात प्रवद्र्धनमार्फत व्यापार घाटा न्यूनीकरण गर्न विभिन्न नीतिगत एवं कानूनी सुधारका काम गरिएको बताएको छन ।




