भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार, कम्पनीको नाफामा ६२.९३ प्रतिशतको गिरावट आएको छ। समीक्षाधीन अवधिमा कम्पनीले २ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कमाएको ७ करोड ९ लाख रुपैयाँभन्दा उल्लेखनीय रूपमा कम हो।
कम्पनीको सेती नदी हाईड्रोइलेक्ट्रिक परियोजनाको निर्माण कार्य सम्पन्न भइसकेको छ र कात्तिक २७ गतेदेखि व्यवसायिक उत्पादन सुरु गरिएको छ। दोस्रो त्रैमाससम्म विद्युत बिक्रीबाट ११ करोड २६ लाख रुपैयाँ आम्दानी भएको छ, जबकि कम्पनीको कुल आम्दानी १३ करोड २१ लाख रुपैयाँ पुगेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रशासनिक खर्च १४ लाख २१ हजार रुपैयाँ, कर्मचारी खर्च २२ लाख ४१ हजार रुपैयाँ, तथा ह्रासकट्टी खर्च ३ करोड ८३ लाख रुपैयाँ रहेको छ।
१ अर्ब ९१ करोड रुपैयाँ चुक्तापूँजी रहेको कम्पनीले रिटेन्ड अर्निङमा ७२ करोड २० लाख रुपैयाँ सञ्चित गरेको छ।
यो अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी २.७५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३७.७६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३६७.५५ रुपैयाँ, मूल्य-आम्दानी अनुपात २४५.७० गुणा तथा तरलता अनुपात ०.८२ प्रतिशत कायम भएको छ।