हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले १४ लाख कित्ता बढी सेयर लीलाम बिक्रीमा राखिएको छ । कम्पनीले आजदेखि १४ लाख ४६ हजार ३५९ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो ।
कम्पनीले प्रति कित्ता रु.१०० अंकित दरको ९९ लाख कित्ता हकप्रद सेयरको निष्काशन तथा बिक्री खुला गर्दा रितपूर्वक आवेदन दिने ३१ हजार ५८३ जना सेयरधनीहरुलाई ८४ लाख ५३ हजार ६४१ कित्ता हकप्रद सेयर बाँडफाँड भएको थियो । अबितरित रहेको १४ लाख ४६ हजार ३५९ कित्ता हकप्रद सेयर लिलाम बिक्री गर्न लागिएको हो ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलकबोल आवेदन पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने कम्पनीले जनाएको छ ।
लगानीकर्ताले नबिल इन्भेष्टमेन्ट बैंकिङ नबिल बैंकका शाखा कार्यालयहरु,विराटनगर, जनकपुर,भक्तपुर,पोखरा,कोहलपुर, सुर्खेत र महेन्द्रनगरमा बोलपत्र आवेदन बुझाउन सक्नेछन् ।
बोलपत्र आवेदन पेश गर्ने अन्तिम मिति असोज १४ गते रहेको छ ।




