पशुपतिनाथ मन्दिरमा दर्शनार्थीले चढाएको भेटी दुरुपयोग गरेको आरोपमा काठमाण्डौ जिल्ला अदालतले ५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। थुनछेक बहस सकिएपछि बुधबार न्यायाधीश कपिलमणि गौतमको एकल इजलासले उक्त आदेश दिएको हो।
अदालतले पशुपति क्षेत्र विकास कोषमा नायब सुब्बा पदमा कार्यरत ५१ वर्षीय नवराज ढोडारी, काठमाण्डौ महानगरपालिका– ६ बस्ने कोषका ब्राह्मण पदमा कार्यरत ३६ वर्षीय नवराज घिमिरेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।
यस्तै अदालतले काठमाण्डौ महानगरपालिका– ८ का ५५ वर्षीय सत्यनारायण जोशीलाई ३ लाख रुपैयाँ धरौटी लिएर छाड्ने आदेश दिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले ६ जनाविरुद्ध २ करोड ३० लाख १० हजार रुपैयाँ बिगो माग दाबी गरी मुद्दा दायर गरेको थियो ।




