सुनकोसी-तेस्रो जलविद्युत् आयोजना निर्माणको जिम्मा सरकारले बंगलादेशलाई दिने भएको छ ।
नेपाल बंगलादेशको ऊर्जा सचिवस्तरीय बैठकमा दुईपक्षीय समझदारी (एमओयु) गर्न लागिएको हो ।
यस अघिको सचिवस्तरीय बैठकमा नेपाल र बंगलादेशबीच यो आयोजना निर्माण गर्न सयुक्त कम्पनी निर्माण गर्ने सहमति भएको थियो । सयुक्त कम्पनी खडा गर्नका लागि समझदारी गर्न लागिएको हो ।
यो आयोजनाको लाइसेन्स नेपाल विद्युत प्राधिकरणसँग छ । विद्युत प्राधिकरण र बंगलादेशी सरकारी कम्पनीको सयुक्त कम्पनी निर्माण हुनेछ ।
सुनकोसी तेस्रो जलविद्युत आयोजनाको बाँधस्थल रामेछापको खाँडादेवी र काभ्रेको तेमाल गाउँपालिकामा पर्छ ।
जलाशयले खाँडादेवी गाउँपालिकाको लुभु, काभ्रेको दोलालघाट र सिन्धुपाल्चोकको बलेफी बजारका बस्तीलाई आंशिक वा पूर्णरुपमा डुबाउन सक्छ । सुनकोसी र तामाकोसी नदी आसपासको करिब ४ हजार २२४ हेक्टर क्षेत्र डुबानमा पर्छ ।
आयोजना निर्माण सुरु भएको करिब ७ वर्षमा सञ्चालनमा आउने अनुमान गरिएको छ। २०८२ मा निर्माण सुरु गरी २०८८ मा सम्पन्न गर्ने लक्ष्य छ ।
यो परियोजनामा आवश्यक लगानी बंगलादेशले जुटाउने छ । आयोजना निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।




