नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का उपाध्यक्ष सुरकृष्ण वैद्यले बैंकहरुले आफूखुसी ब्याजदर बढाएको भन्दै बैंकहरुको आलोचना गरेका छन । साथै उनले बैंकको उच्च ब्याज बिरुद्द आन्दोलन गर्ने चेतावनी दिएका छन्।
मंगलबार आयोजित भक्तपुर उद्योग वाणिज्य संघ र उद्योग वाणिज्य संघ चितवनबीच भ्रातृत्व सम्बन्ध कायममा बैंकले जथाभावी ब्याजदर वृद्धि गरिरहेकोले आफूहरु आन्दोलनको तयारीमा रहेको बताएका हुन्। ‘यसअघि पनि हामीले व्यवसायीहरुले भोग्नुपरेको समस्यालाई मध्यनजर गरी विभिन्न स्वरुपबाट ब्याजदर घटाउनका दबाब दिएका थियौँ’, उनले भने, ‘फेरि पनि बैंकहरुले मनोमानी तरिकाले ब्याजदर वृद्धि गरेकाले पुनः हामी आन्दोलित हुनुको विकल्प छैन।’
कार्यक्रममा शिवप्रसाद मानन्धरले वर्तमान अवस्थामा उद्योगी–व्यवसायी भयावह अवस्थामा रहेको बताए। लामो समयदेखि आर्थिक मन्दीका कारण चौपटमा रहेको व्यापार–व्यवसायले अझै गति लिन नसक्दा धेरैजसो उद्योगी–व्यवसायी पेसाबाट पलायन हुन बाध्य भएकोमा उनले चिन्ता व्यक्त गरे।
मानन्धरले हालको समस्यामा ध्यान नदिए देशकै अर्थतन्त्रमा गम्भीर असर पुग्ने धारणा राखे।
उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले बैंक ब्याजदर र कर्जा समस्या समाधानका लागि महासंघले सरकारमाथि दबाब दिइरहेको भए पनि त्यो अपुग भएको बताए। महासंघले थप दबाब दिँदा पनि निजी क्षेत्रको माग सुनुवाई नभए देशभरका जिल्लाबाट उद्योग वाणिज्य संघहरु सशक्त रुपमा आन्दोलनमा उत्रिन बाध्य हुने उनले चेतावनी दिए।
भ्रातृत्व सम्बन्ध कायम गर्ने समझदारीपत्रमा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष मानन्धर र उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गरेका छन्। महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्य, भक्तपुर उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, उपाध्यक्ष कृष्णमुरारी न्यौपाने र उद्योग वाणिज्य संघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमनकुमार श्रेष्ठलाई रोहवरमा राखी दुई संघबीच आपसी सम्बन्ध बलियो बनाउन सहयोग अभिवृद्धि गर्नेलगायतका विषयमा समझदारी भएको हो ।