एशिया प्रशान्त क्षेत्रका २६ वटा देशका केन्द्रीय बैंकका प्रमुखमध्ये नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी सबैभन्दा कमजोर गभर्नर भएका छन् । विश्वका गभर्नरहरुलाई ग्रेडिङ गरिएको ग्लोबल फाइनान्स पत्रिकाले सार्वजनिक गरेको रिपोर्टमा उनले ‘सी’ ग्रेड पाएका छन् , यो भनेको सबैभन्दा कमजोर ग्रेडिङ मानिएको छ ।
पत्रिकाले सार्वजनिक गरेकाे सन् २०२२ काे केन्द्रीय बैंकका प्रमुखहरुको ग्रेडकाे तथ्याङ्कमा एशिया प्यासिफिक जोनमा नेपालका गभर्नर सबैभन्दा कम ग्रेड पाएका हुन् । सन् २०२१ मा गभर्नर अधिकारीले ‘बी माइनस’ ग्रेड पाएका थिए ।
त्यस्तै भारतका गभर्नर शक्तिकान्त दास विश्वकै उत्कृष्ट गभर्नर घोषित भएका छन् । अमेरिकाबाट प्रकाशन हुने ‘ग्लोबल फाइनान्स’ पत्रिकाले ‘सेन्ट्रल बैंकर रिपोर्ट कार्ड २०२३’ मा भारतको केन्द्रीय बैंकका गभर्नर शक्तिकान्त दासलाई ‘ए प्लस’ ग्रेडिङ पाएका तीन केन्द्रीय बैंक गभर्नरहरुको सुचिमा शीर्ष स्थानमा राख्दै पत्रीकाले उनलाई विश्वकै उत्कृष्ट गभर्नर घोषित गरेको हो ।
ग्लोबल फाइनान्सले मुद्रास्फीति नियन्त्रण, आर्थिक वृद्धि लक्ष्य, मुद्रा स्थिरता र ब्याजदर व्यवस्थापनमा सफलताको लागि ‘ए’ देखि ‘एफ’ को स्केलमा ग्रेडहरु प्रदान गर्ने गरेको छ । जसमा ‘ए’ ग्रेडले पूर्णरुपमा सफलताको र ‘एफ’ ग्रेडले पूर्ण असफलताको प्रतिनिधित्व गर्छ ।





