नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र नेपाल धितोपत्र बोर्ड (सेबोन) दुवै संस्थाले सेयर कारोबारको अन्तिम १५ मिनेटको औसत मूल्य लिएर सूचक गणना गर्ने नियम हटाउने तयारी गरेको संकेत दिएका छन्।
देशको पूँजीबजारका प्रमुख नियामक निकायहरू यस विषयमा एकमत देखिएका हुन्। लामो समयदेखि लगानीकर्ताहरूले यस नियमको विरोध गर्दै आएका थिए। हालैको जेनजी आन्दोलनपछिको बजार प्यानिक अवस्थाले यस्तो नियमले नकारात्मक प्रभाव पारिरहेको भन्दै लगानीकर्ताको माग थप सशक्त बनेको हो।
नियामक निकायको तयारी
नेप्सेस्थित उच्च स्रोतका अनुसार, नेप्सेले आजै धितोपत्र बोर्डलाई आधिकारिक पत्र पठाउने तयारी गरेको छ। सो पत्रमा १५ मिनेट औसत नियम हटाउने प्रस्तावसहित लगानीकर्ताको सम्पत्तिमा कम क्षति पुग्ने उपायबारे सुझाव रहनेछ।
धितोपत्र बोर्डले पनि उक्त पत्र आएलगत्तै सञ्चालक समितिको आकस्मिक बैठक बोलाएर निर्णय लिने तयारी गरेको जनाएको छ। बोर्डका उच्च स्रोतका अनुसार, नेप्सेको प्रस्ताव र लगानीकर्ताको मागलाई ध्यानमा राखेर छिट्टै निर्णय हुने सम्भावना छ।
पृष्ठभूमि
अन्तिम १५ मिनेटको औसत मूल्य लिएर नेप्से सूचक गणना गर्ने प्रणाली लगानीकर्ताबीच विवादास्पद बनेको थियो। यसले बजारको वास्तविक अवस्थाभन्दा फरक सन्देश दिन्छ भन्ने आलोचना हुँदै आएको छ।
विशेषगरी हालको राजनीतिक अस्थिरता र बजारमा देखिएको उतारचढावबीच यस्तो नियम हटाएर कारोबारलाई पारदर्शी र सहज बनाउनु आवश्यक रहेको विश्लेषकहरूको धारणा छ।